चेलाहरू सुन
पाका मानिस जो सफा हृदयका सद्ज्ञानका सारथी
हुन् सारा घरका अपूर्व गरिमा संस्कारका पारखी
वृद्धा सद्गुरु हुन् सदैव घरका आशा भरोसा जन
पाका सारद हुन बिचार पथका चेलाहरू हो सुन ।१।
बुझ्दैनन् किन हो अझै मनुजले माता पिताको छवि
तारा जून समान हुन् गगनका हुन् चम्किला ती रवि
विद्यामा धनमा परिश्रम गरी छन् कर्मयोगी गुण
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।२।
वृद्धावृद्धहरू बसेर घरमा बाल्छन् उज्यालो टुकी
ज्ञाता हुन् भवका जनार्दन तिनै हुन् चेतनाका बुटी
श्रद्धाले सहजै झुकी सुमनले बन्छन् सदा सज्जन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।३।
पाका सज्जनले दिए शुभ कुरा छुट्दै नछुट्ने गरी
लाग्छन् यी श्रममा सुकर्म गरिँदा हुन्छन् सुचाला हरि
यो आफ्नो श्रमको महत्त्व बुझ है सोचेर राम्रा गुण
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।४।
सारा दर्शन पाठ संस्कृति कला अध्यात्मका सागर
हुन् पाका गुण लोकका धरहरा हुन् तेजिला भाष्कर
फाल्दै छन् जसले विसङ्गति कुरा हेरी विचारी कन
पाका सारद हुन् विचार पथका चेलाहरू हो सुन ।५।
(मध्यपुर ठिमी नगरपालिका २ सानोठिमी,जागरण बस्ती (हाल
पेशा शिक्षक)
















