नाइमाको अर्थमन्त्रीसँग भेट, अटोमोबाइल क्षेत्रका नीतिगत सुधार प्रस्ताव
काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) की अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल तथा गतिशीलता क्षेत्रसँग सम्बन्धित नीतिगत सुझावहरू प्रस्तुत गरेको छ। भेटका क्रममा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिता होइन आवश्यक क्षेत्रका रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ। साथै, स्थिर र पूर्वानुमानयोग्य नीतिगत वातावरण, सरोकारवालासँग परामर्शमा आधारित निर्णय तथा कर संरचना सन्तुलित बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। संस्थाले ८०।२0Loan to Value (LTV) अनुपातमार्फत वित्तीय पहुँच सहज बनाउनुपर्ने प्रस्ताव पनि अघि सारेको छ। नाइमाले भन्सार क्लियरन्स भइसकेपछि पनि फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यवसायिक वातावरणमा अन्योल सिर्जना गरेको उल्लेख गर्दै यसलाई स्पष्ट र एकरूप बनाउनुपर्ने माग गरेको छ। त्यस्तै, विद्युतीय तथा हाइब्रिड सवारी साधनको स्पष्ट वर्गीकरण र समान कर व्यवहार आवश्यक रहेको धारणा राखिएको छ। संस्थाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण सुविधा विस्तार, यातायात ऐन पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणका विषयमा समेत सुझाव दिएको छ।
“Make in Nepal” अवधारणाअन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन र दीर्घकालीन नीतिगत स्थिरतामा विशेष जोड दिइएको छ। अर्थमन्त्री वाग्लेले प्रस्तुत सुझावहरू सान्दर्भिक रहेको बताउँदै आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रयास गरिने बताएका छन्। उनले निजी क्षेत्रबाट एकीकृत रूपमा सुझाव आएकोमा धन्यवाद व्यक्त गरेका छन्। यसैबीच नाइमा टोलीले सुनील लम्सालसँग पनि भेटघाट गरेको छ। मन्त्री लम्सालले अटोमोबाइल क्षेत्रले अर्थतन्त्र, रोजगारी र गतिशीलतामा पुर्याएको योगदानको प्रशंसा गर्दै मन्त्रालयसँग सहकार्य बढाउन आग्रह गरेका छन्। साथै, यस क्षेत्रबाट उठ्ने राजस्वको केही अंश पुनः यही क्षेत्रमा लगानी गर्ने विषयमा सरकार सकारात्मक रहेको संकेत दिएका छन्।
















