राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ । मंगलबार चारै समितिका सभापति निर्विरोध रूपमा चयन गरिएको हो । सिंहदरबारमा बसेको सम्बन्धित समितिका छुट्टाछुट्टै बैठकमा दलहरूबीच सहमतिका आधारमा सभापति चयन गरियो । राष्ट्रियसभाका चारमध्ये सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।
उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) र समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला थिए । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा र समर्थकमा दुर्गाकुमारी गुरुङ थिए । विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । उनको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा जगत तिमिल्सना थिए । विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनको प्रस्तावकमा आनन्दप्रसाद ढुंगाना र समर्थकमा गीता देवकोटा थिए । गएको फागुन २० गतेदेखि चार समितिका सभापति पद रिक्त थियो ।
















