फोनपेको आम्दानी २६ प्रतिशतले बढ्यो, बुक बिल्डिङबाट आईपीओ चाँडै

काठमाडौं । बुक बिल्डिङ विधिमार्फत प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारी गरिरहेको नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक ‘फोनपे पेमेन्ट सर्भिस’को व्यापारमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीको आम्दानी गत वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढेको हो । फोनपेले चालु आवको ६ महिनामा ६१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानीको ग्राफ पछिल्लो चार वर्षमा वार्षिक औसत ६१ प्रतिशतले वृद्धि भइरहेको छ । सन् २०२२ मा २० करोड ६० लाख रुपैयाँ रहेको आम्दानी सन् २०२३ मा ४४ करोड २० लाख र सन् २०२४ मा ७२ करोड ७० लाख रहेकामा गत आर्थिक वर्षमा ९७ करोड ४० लाख रुपैयाँ पुगेको थियो। सन् २०१९ मा स्थापना भएको कम्पनीले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) सेवा दिँदै आएको छ । कम्पनीको आम्दानीको प्रमुख स्रोत अन्तरबैंक कारोबार रहेको छ । साथै, कम्पनीले अनलाइन भुक्तानी सेवा र इन–स्टोर मर्चेन्ट पेमेन्ट (क्यूआर पेमेन्ट) सेवा दिँदै आएको छ । कम्पनीको आम्दानीको मुख्य हिस्सा (९१ प्रतिशत) अन्तरबैंक भुक्तानी प्रणालीबाट हुने गरेको छ । बाँकी ७ प्रतिशत आम्दानी अनलाइन भुक्तानी र इन–स्टोर मर्चेन्ट (क्यूआर) पेमेन्टबाट हुने गर्दछ । सन् २०२६ को सुरुसम्म कम्पनीको ब्यालेन्स सिटमा करिब ६४ करोड ७० लाख रुपैयाँ तरल मौज्दात रहने प्रक्षेपण गरिएको छ भने वार्षिक सञ्चालन खर्च ५० देखि ५५ करोड रुपैयाँको हाराहारीमा रहेको छ । फोनपेमा ठूलो व्यावसायिक घराना खेतान समूहको प्रवेश भएको छ । नेपाल राष्ट्र बैंकले संस्थापक सेयरधनी अस्गर अली र एफवान सफ्ट इन्टरनेशनलको २२.३७ प्रतिशत सेयर बिक्रीका लागि अनुमति दिइसकेको छ । कूल ११ लाख ५२ हजार ११ कित्ता सेयर करिब १ अर्ब ५१ करोड ४४ लाख रुपैयाँमा किनबेच भएको हो । यस कारोबारका आधारमा फोनपेको कूल मूल्यांकन ६ अर्ब ७७ करोड रुपैयाँ कायम गरिएको छ । खेतान समूहले मात्रै करिब २० प्रतिशत सेयर स्वामित्व खरिद गरेको छ । यसअघि बैंकिङ, बिमा र पेय पदार्थमा केन्द्रित खेतान समूहले अब सूचना प्रविधिको क्षेत्रमा पनि आफ्नो लगानी विस्तार गरेको हो । फिनटेक क्षेत्रमा झन्डै ८६ प्रतिशत बजार हिस्सा ओगटेको फोनपेसँग हाल १७ लाखभन्दा बढी मर्चेन्ट र ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् । नेपालको फिनटेक इकोसिस्टमको पायोनियमर कम्पनीले नेपालको सन् २०२४ मा ९७ प्रतिशत बजार हिस्सा ओगटेको थियो ।

आर्थिक वर्ष २०८१।८२ मा फोनपेमार्फत १४ करोड पटक अन्तरबैंक कारोबार भई कुल २८ खर्ब ३४ अर्ब रुपैयाँको कारोबार भएको छ। त्यस्तै, क्यूआर स्क्यानमार्फत ३० करोड पटकमा ७ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कम्पनीले हालै भारतीय पर्यटकका लागि क्यूआर भुक्तानी सुविधा सुरु गर्नुका साथै चीन, कोरिया र थाइल्याण्डसहित १३ देशका पर्यटकले प्रयोग गर्ने १८ वटा अन्तर्राष्ट्रिय वालेटमार्फत नेपालमा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । छोटो समयमै नाफा कमाउन सफल फोनपेले आव २०८०।८१ को मुनाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साथै, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा नेपाल सरकारले फोनपेलाई ८औं आईसीटी दिवसमा सम्मानित समेत गरेको छ । एफवान सफ्ट ग्रुपको ६६ प्रतिशत स्वामित्व रहेको यो कम्पनीले अब बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । इक्रा नेपालले फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) लाई इक्रा एनपी इसुअर रेटिङ ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ प्राप्त गर्ने संस्थाहरू आफ्नो वित्तीय दायित्वहरू समयमै पूरा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षित मानिन्छन् । इक्रा नेपालका अनुसार यस्तो रेटिङ प्राप्त गर्ने कम्पनीहरूमा कर्जा जोखिम न्यून रहने गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *