कांग्रेसको आधिकारिता विवादमा फैसला सुनाउने तयारी
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुईतर्फी सुनुवाई सकिएपछि फैसलाको तयारी भएको हो । रिट निवेदक रहेका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट जवाफी बहस सकिएको छ । अहिले न्यायाधीशद्वय सुवेदी र निरौला निर्णय लेख्नका लागि ‘च्याम्बर’ मा छन् । देउवा पक्षबाट अन्तिममा पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, रमनकुमार श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, पंकज कर्ण, अरुण पौडेलले जवाफी बहस गरेका थिए । थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए । आफूलाई कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित भन्दै देउवा समूहले विशेष महाधिवेशन अवैध रहेको दाबी गर्दै आएको छ । सर्वोच्चबाट आउने फैसलाले कांग्रेसको विशेष महाधिवेशन, गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनलाई वैधता दिने निर्वाचन आयोगको निर्णयसँगै आधिकारिकता दिने गरी निर्वाचन आयोगबाट भएको निर्णयको छिनोफानो हुने छ ।
















