रोयल बहुउद्देश्यीय सहकारी २९ वर्षमा
काठमाडौं। बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था २९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै २९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। संस्थाले मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा संस्थाका अध्यक्ष सिताराम काफ्लेले सरोकारवाला निकायप्रति शुभकामना व्यक्त गर्दै संस्थाको आगामी योजना र प्रतिबद्धताबारे धारणा राखेका छन्। उनले विगतका उपलब्धिहरूको समीक्षा गर्दै भविष्यमा अझ सशक्त र दूरदर्शी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्तर उकास्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको उनको भनाइ छ। वि.सं. २०५५ वैशाख ९ गते २५ जना युवाको पहलमा २ लाख ५० हजार रुपैयाँ प्रारम्भिक पूँजीबाट स्थापना भएको संस्था हाल करिब १६० अर्ब रुपैयाँ कारोबार गर्ने अवस्थामा पुगेको छ।
सुरुमा काठमाडौंको अनामनगरस्थित भाडाको कोठाबाट सेवा सुरु गरेको संस्था अहिले बसुन्धरामा आफ्नै आधुनिक भवनबाट सञ्चालनमा रहेको छ। साथै, फर्पिङ र टोखामा पनि सेवा केन्द्र सञ्चालनमा छन्। संस्थाले मुक्तिनाथ समूहअन्तर्गतका संस्थासँग सहकार्य गर्दै “गाउँको उत्पादन शहरमा र शहरको पूँजी गाउँमा” भन्ने अवधारणालाई अघि बढाइरहेको जनाएको छ। यसअन्तर्गत कृषकका उत्पादन बजारसम्म पुर्याउने तथा आवश्यक वित्तीय र प्राविधिक सेवा उपलब्ध गराउने कार्य भइरहेको छ। कृषि स्रोत केन्द्रमार्फत किसानलाई बिउ, मल, औजारलगायत कृषि सामग्री उपलब्ध गराउँदै आएको संस्थाले लघुवित्त कार्यक्रममार्फत न्यून आय भएका तथा सीमान्तकृत परिवारलाई आयआर्जनका अवसर प्रदान गर्दै आएको जनाएको छ। यसले विशेषगरी महिला सशक्तीकरण, उद्यमशीलता विकास र वित्तीय साक्षरतामा टेवा पुर्याएको छ। अध्यक्ष काफ्लेले सेवा तथा सुविधालाई समयानुकूल परिमार्जन गर्दै प्रविधिको अधिकतम उपयोग, वित्तीय समावेशीकरण विस्तार, सुशासन सुदृढीकरण र दिगो विकासमा केन्द्रित रहने बताए। संस्थाले सार्वजनिक गरेको २९ बुँदे प्रतिबद्धतामा सदस्यको आर्थिक सशक्तीकरण, पारदर्शिता, प्रविधिमैत्री सेवा विस्तार, कृषि लगानी प्रवर्द्धन, डिजिटल बैंकिङ, जोखिम व्यवस्थापन, संस्थागत क्षमता अभिवृद्धि तथा दिगो विकास लक्ष्यअनुसार कार्यक्रम सञ्चालनलगायतका विषय समेटिएका छन्।
















