उद्योग वाणिज्य महासंघको ६० औँ साधारण सभामा ७३ पदका लागि १३७ जना उम्मेदवार
काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ। वैशाख २१ र २२ गते काठमाडौंमा आयोजना हुन लागेको साधारणसभाको सम्पुर्ण तयारी पुरा भएको जनाइएको छ। साधारणसभाबाट महासंघको नयाँ कार्यसमिती चयन हुनेछ जसका लागि ७३ पदका लागि १३७ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्।
बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि निर्वाचन हुनेछ। साधारणसभा २१ वैशाखमा ललितपुरस्थित होटेल रोयल टुलिपमा उद्घाटन हुने तथा २२ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान हुने कार्यक्रम रहेको महासंघले जानकारी दिएको छ। निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दाबेदार हेमराज ढकाल र सुरकृष्ण वैद्य प्यानलसहित प्रतिस्पर्धामा छन्। ढकाल समूहलाई अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन छ भने वैद्य समूहलाई अञ्जन श्रेष्ठको साथ रहेको छ। महासंघका अनुसार कुल २,१५३ मतदाता निर्वाचनमा सहभागी हुनेछन् जसमा सबैभन्दा धेरै एसोसिएटतर्फका मतदाता रहेका छन्।
















