एफएनसीसीआईको वार्षिक साधारण सभा आज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं वार्षिक साधारण सभा आजदेखि सुरू हुँदैछ । साधारण सभामा प्रमुख अतिथि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनेछन् । बिहान १० बजे ग्वार्कोको होटल रोयल टुलिपमा सम्पन्न हुने महाधिवेशनले २२ गते निर्वाचन गर्नेछ । त्यसपछि महासंघले नयाँ नेतृत्व पाउनेछ । महासंघको विधानअनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष हुनेछन् भने अन्य पदका लागि निर्वाचन हुँदैछ । यसअघि चैत २९ र ३० गते हुने तय भएको साधारणसभा सदस्यता विवाद आएसँगै अदालतमा पुगेको थियो । अदालतले विवाद नटुंगिएसम्म साधारण सभा रोक्न भनेकोमा महासंघले विवाद टुंगाएर नयाँ मितिमा साधारणसभा गर्न लागेको हो । महासंघको निर्वाचन भने कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने तय भएको छ ।
















