माउण्ट एभरेष्ट डिष्टिलरीले २० प्रतिशत आईपीओ निष्कासन गर्ने
काठमाडौं । माउण्ट एभरेष्ट डिष्टिलरी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले कम्पनीको दीर्घकालीन विकास र वित्तीय सुदृढीकरणका लागि महत्वपूर्ण रणनीतिक निर्णयहरू गरेको छ । जसअन्तर्गत, कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रिया अघि बढाउने प्रस्ताव विशेष प्राथमिकताका साथ पारित गरेको छ ।
यस निर्णयले कम्पनीको पुँजी संरचनालाई थप मजबुत बनाउनुका साथै आम सर्वसाधारणलाई समेत कम्पनीको स्वामित्वमा सहभागी हुने र पुँजी बजारमा पहुँच स्थापित गर्ने मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । यसैगरी, कम्पनीले बजारको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्ने र उद्योगमा आधुनिक अटोमेसन प्रणाली लागू गर्ने योजनालाई अगाडि बढाएको छ । उत्पादन प्रक्रियामा अत्याधुनिक प्रविधिको प्रयोग गर्दा उत्पादन दक्षता वृद्धि हुनुका साथै गुणस्तरमा समेत थप निखार आउने कम्पनीको ठहर छ । सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै नयाँ उत्पादनहरूको प्रवर्द्धन र व्यवसाय विस्तारमा विशेष जोड दिने निर्णय समेत गरेको छ ।
















