गोल्छा अर्गनाइजेशनले सुरू गर्यो एमजी डिलरशिप
काठमाडौं । गोल्छा अर्गनाइजेशनले थापाथलीमा एमजी डिलरशिप सञ्चालनमा ल्याएको छ । जेएसडब्लु एमजी मोटर इन्डियाले गोल्छा अर्गनाइजेशनसँगको रणनीतिक वितरण साझेदारी गरेसँगै डिलरशीप सञ्चालनमा ल्याइएको हो । यस सहकार्यसँगै काठमाडौंको थापाथलीमा नयाँ एमजी डिलरशिप सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो सहकार्यले नेपाली बजारमा एमजी ब्रान्डको थप व्यवस्थित र ग्राहककेन्द्रित उपस्थितिको आधार तयार गर्नेछ । यस साझेदारीअन्तर्गत सञ्चालनमा आएको नयाँ एमजी डिलरशिपमार्फत ग्राहकहरूले एमजीका प्रविधिमैत्री तथा विशेषतायुक्त गाडीहरू अनुभव गर्न सक्नेछन् । शोरुममा एमजी कमेट र एमजी विन्डसर लगायतका प्रमुख मोडलहरू उपलब्ध छन्, जसले विभिन्न सेग्मेन्टका ग्राहकहरूको फरकफरक मोबिलिटी आवश्यकताहरू पूरा गर्ने कम्पनीको विश्वास छ । नेपालमा स्मार्ट तथा दिगो मोबिलिटी समाधानप्रति बढ्दो माग र ग्राहक अपेक्षामा आएको परिवर्तनका कारण नेपाल एमजीका लागि महत्वपूर्ण बजारका रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ । यस साझेदारीमार्फत एमजीले आफ्ना गाडीहरूलाई ग्राहकसम्म अझ नजिक पुर्याउनुका साथै देशभर सेवा तथा बिक्रीपछिको सुविधालाई थप सुदृढ र पहुँचयोग्य बनाउने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।
कम्पनीले बलियो स्थानीय उपस्थिति र थप प्रभावकारी ग्राहक सहयोगमार्फत ग्राहकलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्ने जनाएको छ । नेपालका लागि डिलर प्रिन्सिपल आकाश गोल्छाले भने, ‘जेएसडब्लु एमजी मोटर इन्डियासँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौं । एमजीका विश्वस्तरीय गाडीहरू नेपाली ग्राहकसमक्ष ल्याउन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो ।’ आधुनिक पूर्वाधार र उत्कृष्ट ग्राहक सेवामा केन्द्रित भएर यो डिलरशिप तयार गरिएको उनले बताए । जी.ओ. अटोमोबाइल्सले सीमित अवधिका लागि एमजीका गाडीहरूमा विशेष प्रारम्भिक मूल्य पनि घोषणा गरेको छ । यसअन्तर्गत एमजी कमेट ईभीको प्रारम्भिक मूल्य १८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ भने एमजी विन्डसर ईभी ३९ लाख ७५ हजार रुपैयाँबाट उपलब्ध हुनेछ । कम्पनीका अनुसार यो आकर्षक मूल्य प्रस्तावमार्फत ग्राहकहरूले कम्प्याक्ट शहरी ईभीदेखि प्रिमियम एसयूभी प्रदर्शनसम्मका विभिन्न विकल्पहरू रोज्न सक्नेछन् ।
















