५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि दिव्यज्योती हाइड्रोपावर र सिटिजन्स बैंकबिच सम्झौता
इश्वर बस्नेत
काठमाडौँ । लमजुङमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘मर्स्याङ्दी बेसी जलविद्युत आयोजना’का लागि लगानी जुटेको छ। दिव्यज्योती हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा प्रभु र एनआईसी एशिया बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका हुन्। कार्यक्रममा लगानीकर्ता बैंक तथा प्रवर्द्धक कम्पनीबीच ऋण लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकालाई कार्यक्षेत्र बनाएर निर्माण हुने यस आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६७ः३३ कायम गरिएको छ । जसअनुसार, सिटिजन्स बैंकको अगुवाईमा रहेका बैंकहरुले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम (करिब ३ अर्ब ८० करोड रुपैयाँ) प्रवद्र्धकहरुले स्वपुँजी का रुपमा परिचालन गर्नेछन् । कम्पनीका अनुसार यो आयोजना आगामी ३० महिनाभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लमजुङस्थित उदीपुर सबस्टेशनमार्फत वितरण गरिनेछ । आयोजनाबाट वार्षिक कुल ३१२.६०२ गिगावाट घन्टा ऊर्जा उत्पादन हुनेछ, जसमा हिउँदयाममा ११२.०९९ गिगावाट घन्टा र बर्षायाममा २००.५०३ गिगावाट घन्टा योगदान रहनेछ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै हरित ऊर्जालाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको स्मरण गराए । ‘निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यले नै देशको ऊर्जा क्षेत्रमा ठूलो क्रान्ति सम्भव भएको हो,’ उनले भने, ‘सिटिजन्स बैंकले एकल र सहवित्तीयकरणमार्फत साना–ठूला धेरै आयोजनालाई सफल बनाएको छ र यो ५० मेगावाटको आयोजना हाम्रो लगानीको अर्को एउटा महत्वपूर्ण कोशेढुङ्गा हुनेछ । दिब्यज्योती हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतिस न्यौपानेले आयोजनाका लागि आवश्यक पर्ने विद्युत विकास विभागको अनुमति, वातावरणीय प्रभाव मूल्यांकन र नेपाल विद्युत प्राधिकरणसँगको पीपीए लगायतका सबै कानूनी प्रक्रियाहरु पूरा भइसकेको जानकारी दिए । वित्तीय व्यवस्थापनको टुंगो लागेसँगै आयोजनाको भौतिक निर्माण कार्य तत्काल तीव्र गतिमा अगाडि बढाइने उनले बताए । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद,बिक्री सम्झौता (पीपीए) यसअघि नै सम्पन्न भइसकेकाले अब आयोजनाको भौतिक निर्माणले तीव्र गति लिने अपेक्षा गरिएको छ। स्वदेशी पुँजी परिचालनमार्फत ठूला जलविद्युत आयोजना निर्माण गर्ने राष्ट्रिय अभियानमा समेत यस आयोजनाले योगदान पुर्याउने विश्वास गरिएको छ।
















