फेरि अधिनायकवादी युग प्रारम्भ

नयाँ भनिएकाहरूले राज्य सत्ता कब्जा गरेपछि मुलुकको मुहार फेरिन्छ भन्नेहरू गहिरो सत्मामा परेका छन् । राणा शासनको अन्त्य गरी प्रजातन्त्र ल्याउन लडेको पुस्ता जीवित रहँदै नेपालमा एकतन्त्रीय शासन , अधिनायकवाद र नागरिक अधिकार हननका अनेक अभ्यास भए । २००७ सालको क्रान्तिले हासिल गरेको संविधानसभाद्वारा संविधान निर्माण गर्ने उपलब्धिलाई राजनीतिक दलहरूको खिचातानीले गर्दा गुम्न पुग्यो । राणाले प्रयोग गर्दै आएको अधिकारलाई राजामा हस्तान्तरण गर्ने गम्भीर षडयन्त्रबाट प्रजातन्त्रको उच्चतम अभ्यास आमनिर्वाचनद्वारा असफल गराउन समेत जनता सडकमै आउनु पर्‍यो । ०१४ सालमा भएको भद्र अवज्ञा आन्दोलनद्वारा राजालाई आमनिर्वाचन गराउन बाध्य गराइएको थियो । तर, ०१५ सालको आमनिर्वाचनद्वारा निर्वाचित सरकारलाई पनि हठात् विघटन गरी राजा महेन्द्रले पञ्चायत नामको एकतन्त्रीय व्यवस्था लादे । पञ्चायतले तीस वर्षसम्म एकतन्त्रीय शासन लागु गर्‍यो । काँग्रेस कम्युनिष्टबीचको संयुक्त आन्दोलनद्वारा २०४६ सालमा पञ्चायतको अन्त्य भयो । तर, त्यस यता पनि प्रजातन्त्रको गला घोट्ने षडयन्त्रका अनेक तानाबाना बुनिए । त्यस्तो षडयन्त्रमा माओवादी हिंसा एउटा प्रमुख घटना बन्न पुग्यो । माओवादी द्वन्द्वकै जगमा दरबार हत्याकाण्ड घट्यो । दरबार हत्याकाण्डद्वारा सत्ता हत्याएका राजा ज्ञानेन्द्रले २०५९ सालमा नागरिक अधिकारलाई सङ्कुचित गराउन शाही कदम उठाए । त्यही घटना कै कारण २०६२(०६३ को संयुक्त आन्दोलन भयो । र, नेपाल गणतन्त्रको नयाँ युगमा प्रवेश गर्‍यो ।
प्रजातन्त्र पुनः स्थापनादेखि गणतन्त्र स्थापनासम्मको कालखण्डमा नेपाली जनताले अनेक हन्डर, ठक्कर खाए । गणतन्त्र स्थापनापछि नेपाल निर्विघ्न रूपले अग्रगामी दिशामा अघि बढ्ला भन्ने अपेक्षा नेपाली जनताको थियो । तर, शासक वर्गको विवेकहीन कदम, कुशासन र विदेशी षडयन्त्रका कारण दुई दशक नबित्दै जेन्जी विद्रोहको षडयन्त्रकारी कदमद्वारा लोकतन्त्रको बलात् हत्या गरियो । अहिले नेपाल लोकतन्त्र,नागरिक शासन र मानवअधिकारबाट वञ्चित गराइएको छ । सरकार मध्ययुगिन बर्बर व्यवहार देखाउन थालेको छ । फागुन २१ गतेको निर्वाचन नाटकद्वारा सत्ता हत्याएको अमेरिका समर्पित जमातले देखाएको व्यवहारले अब नेपाल फेरी डरलाग्दो अधिनायकवादी खतराको अवस्थामा फसेको छ । सङ्घ संस्थामाथि प्रतिबन्ध, ट्रेड युनियन अधिकारको हनन, स्थानीय तहको अधिकार अपहरण, सुकुम्वासी हटाउने नाममा मानव अधिकारको निर्मम हननले वर्तमान सरकार बिस्तारै पञ्चायत भन्दा पनि खतरनाक एकतन्त्रीय शासनको बाटोतर्फ प्रवृत्त हुँदै गएको देखिँदै छ । राजनीतिक दलहरूलाई अलगोरिदम माध्यमद्वारा बदनाम गराउन सफल भएपछि वर्तमान अवस्था ल्याउन सफल भएको शक्तिको गाँठो विदेशी शक्तिसम्म गाँसिएको छ । यसलाई चुढाउन लोकतन्त्र, मानवअधिकार र विधिको शासनको पक्षमा रहेका दलहरू फेरी एक ठाउँमा आउनुपर्ने अवस्था आएको छ । यदि त्यस्तो भएन भने नेपाली जनताले फेरी अर्को एउटा युग अधिकारविहीन भएर गुर्जान बाध्य हुनुपर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *