भोलिदेखि देशभर रिलिज हुँदै एक मुठ्ठी बादल

काठमाण्डौं । भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म एक मुठ्ठी बादलको प्रिमियर गरिएको छ। बुधबार साँझ काठमाडौंस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा अभिनेत्री आँचल शर्मा रातो गाउन र लामो घुम्टोमा बेहुलीझैं सजिएर प्रवेश गरेकी थिइन्। महिला नौमती बाजा समूहको बाजागाजासहित फिल्मको प्रिमियर सुरू गरिएको थियो। सहारा शर्माद्वारा निर्देशित एक मुठ्ठी बादलको प्रिमियरमा पनि फिल्मकै कथावस्तुजस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखिएको देखिन्थ्यो। फिल्ममा आँचल शर्माले माइलीको भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारी चलिरहेको हुन्छ। उक्त पात्रमार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा तथा महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरिएकाले फिल्मले प्रिमियरमा उपस्थित दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। निर्देशक सहारा शर्माले भनिन्, एक मुठ्ठी बादल नेपाली फिल्ममा प्रायः नदेखाइने महिलाका भावना र अनुभवमा आधारित कथा हो।

निर्देशकसँगै, निर्माता अभिमन्यु दीक्षित, सामिप्य राज तिमल्सेना, निकुन श्रेष्ठ तथा अनुप पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए। प्रिमियरमा सहभागी दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय तथा कथावाचन शैलीको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा कलाकार तथा निर्माण टोलीसँग सञ्चारकर्मीहरूको अन्तरक्रिया पनि आयोजना गरिएको थियो, जहाँ फिल्म निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाको महत्वबारे छलफल गरिएको थियो। निर्माता अभिमन्यु दीक्षितले भने, हामीले मनदेखि एउटा फिल्म बनाएका छौं। अब यसलाई हेर्ने, यसको बारेमा कुरा गर्ने र अझ धेरै दर्शकमाझ पुर्‍याउने जिम्मा दर्शकहरूको हो। फिल्म एक मुठ्ठी बादल शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ। यसमा आँचलसहित निशा शर्मा, उषा रजक, सहयोग अधिकारी, शेखर चापागाई, मनिष निरौला, अविरल प्रताप अधिकारी, गौरव बिष्ट, भीमा मैनाली, अस्मिता गौतमको अभिनय छ। सिनेमा हलहरूले फिल्मको अग्रिम टिकट बिक्री सुरू गरिसकेका छन्। फिल्मको रनटाइम ११७ मिनेट तय छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *