प्रेसले आफ्नो सीमा कायम राखे सरकारले चाहेर पनि केही गर्न सक्दैन : सञ्चारमन्त्री
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको बताएका छन् । प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रतताप्रति प्रतिबद्ध रहेको बताए । “प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री तिमल्सिनाले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु । उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री तिमल्सिनाले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा आफ्नो मन्त्रालयसँग सम्बन्धित सुझाव र प्रश्नलाई मनन् गर्ने विश्वास दिलाए ।
















