चिनियाँ नागरिक लुटपाट घटना अनुसन्धान गर्न अपराध अनुसन्धानको टोली सिन्धुपाल्चोकमा

काठमाडौं । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली चिनियाँ नागरिक लुटपाट घटनाको अनुसन्धान गर्न सिन्धुपाल्चोक पुगेको छ । भोटेकोसीस्थित हेली रिसोर्टमा बसेका एक चिनियाँ नागरिकमाथि भएको लुटपाट घटना अनुसन्धान गर्न कार्यालयको टोली भोटेकोसी पुगेको हो । कार्यालयको टोलीले रिसोर्टमा जडित सीसीटीभी हार्डडिस्क बरामद गरेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, ती चिनियाँ नागरिक गएको फागुन २३ गते हेली रिसोर्ट बस्न पुगेका थिए । सोही विषयमा अनुसन्धानका लागि कार्यालयको टोली मंगलबार सिन्धुपाल्चोक पुगेको हो । राति रिसोर्टमै उनको सुन लुटपाट भएको थियो । कार्यालयका अनुसार, ती चिनियाँ नागरिकले लगाएको सुनको सिक्री तथा नगद रुपैयाँसमेत लुटिएको थियो । तिनले उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । कार्यालयको टोली लुटपाट घटनाको अनुसन्धानका लागि भोटेकोसी पुगेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । प्रहरीले सुरुमा रिसोर्टका सञ्चालकसित सीसीटीभी फुटेज हेर्ने अनुमाति मागेका थिए । तर, सञ्चालकले सीसीटीभी फुटेजमा स्टोरेज नभएको र डिलिट भएको जानकारी दिएका थिए । सञ्चालकले फुटेज दिन अस्वीकार गरेपछि कार्यालयको टोलीले ‘हार्डडिस्क’ नियन्त्रणमा लिँदै अनुसन्धान थालेको छ ।
सञ्चालकै परेका थिए पक्राउ
प्रहरीको अनुसन्धानका क्रममा हेली रिसोर्टकै सञ्चालकमध्येका एक बैंकिङ कसुरमा पक्राउ परेका थिए । दुई दिन अघिमात्रै जेठ २ गते सुवास प्रधान पक्राउ परेका हुन् । नुवाकोट म्यागङ गाउँपालिका–६ का ५३ वर्षीय प्रधान बैंकिङ कसुरमा मुद्दामा पक्राउ परेका हुन् । प्रधान पोखराका चिनबहादुर रानाभाटको जाहेरीका आधारमा पक्राउ परेका हुन् । प्रधानले रानाभाटसित ३ करोड ५० लाख रुपैयाँ लिएको र त्यसबापत चेक दिएका थिए । तर, उनको खातामा रकम नभएपछि चेक बाउन्स भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *