‘मिस नेपाल’ मा ७८ सुन्दरीले दिए अडिसन, पाँचजना जज घोषणा
काठमाडौं । मिस नेपाल २०२६ का सबै अडिसन टुंगिएको छ । मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन आयोजना गरिएको थियो जहाँ ६० जनाले सहभागिता जनाए । त्यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, जनकपुर, इटहरी र बुटवलमा अडिसन आयोजना गरिएको थियो । काठमाडौं उपत्यका र मोफसलमा गरेर कुल ७८ जना सुन्दरीले अडिसन दिएका छन् । द हिडन ट्रेजरका अनुसार यसवर्ष १०० जनाभन्दा धेरैले आवेदन दिएका थिए ।

संस्थाका प्रबन्ध निर्देशक प्रमोद कंशाकारका अनुसार, आज बुधबार अडिसन दिएका मध्येबाट २८ जना छनोट गरिनेछ । छनोट गरिएका मध्येबाट पनि २४ जना फाइनलिस्ट पुनः छनोट हुनेछन् । यसवर्षको मिस नेपाल साउन १६ गते (अगस्ट १)मा द प्लाजामा नै आयोजना हुनेछ ।
जजमा को-को ?
द हिडन ट्रेजरले जज (निर्णायक) पनि सार्वजनिक गरेको छ । जसमा संस्थाका निर्देशक रुपेश प्रधान, कोरियोग्राफर रचना शर्मा, मेकअप आर्टिस्ट सकिल कुवँर, फेसन डिजाइनर रमिला नेमकुल र पूर्वमिस इन्टरनेसनल तथा अभिनेत्री नीति शाह छन् ।
















