गोतखोर टोलीले कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्ने
काठमाडौं । कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि सशस्त्र प्रहरीले कुरिनटारबाट सोनार क्यामेरा र म्याग्नेटसहितको टोली पठाएको छ । दैलेखको साङ्गेताडास्थित कर्णाली राजमार्गबाट फोर्स गाडी नदीमा खसेर बेपत्ता भएको थियो । गाडी तथा यात्रुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोतखोर टोली खटिएको छ ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमान्डमा चारजना गोताखोरसहितको टोली शुक्रबार त्यसतर्फ लागेको हो । आज घटनास्थल पुगेर उक्त उपकरणसहित खोजीकार्य सुरु हुने प्रहरीले जनाएको छ । उक्त टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेटलगायत उपकरण लिएर गएको छ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार सडकबाट अन्दाजी ६,७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । उक्त गाडीमा पाँचजना रहेको प्रहरीले जनाएको छ । एकजनाको शव फेला परिसकेको छ ।

















