नेपालमा पनि जेलेन्स्की जन्माउने षडयन्त्र
२०८२ भदौ २४ पछि नेपालको राज्य संयन्त्र पूर्णरुपले निकम्मा भएको छ । राजनीतिक शक्ति, निजामती र फौजी प्रशासन कामै नलाग्ने साबित भएका छन् । निजी क्षेत्र त झन् उठ्नै नसक्ने गरी ध्वस्त भएको छ । गैरसरकारी क्षेत्रबाट सक्रिय रहेका शक्ति प्राणहीन भएका छन् । यस्तो अवस्थामा अराजनीतिक ,असामाजिक र विदेशी स्वार्थको गोटीको रूपमा काम गर्ने तत्त्व शक्तिशाली रूपमा देखा पर्नु स्वाभाविक हुन जान्छ । अहिले नेपालको आन्तरिक प्रशासन मात्र ध्वस्त भएको छैन,बरु वैदेशिक सम्बन्ध , आर्थिक सामाजिक अवस्था र शान्ति सुरक्षा जस्ता सर्वाधिक संवेदनशील सम्बन्धहरू पनि कामै नगर्ने अवस्थामा पुगेका छन् । संविधान,कानुन, नीति नियम कहिले पनि काम नगर्दा जङ्गली राज चल्न थालेको छ । जङ्गली राजमा न त न्याय कानुन हेरिन्छ न राष्ट्र र जनतालाई महत्त्व दिइन्छ । परराष्ट्र सम्बन्धको महत्त्व एउटा देशका लागी कति रहन्छ भन्ने समेत हेक्का राखिँदैन । वर्तमान प्रधानमन्त्री बालेन्द्र साहले त फग अमेरिका फग चाइना फग इन्डिया भनेर तिनलाई सामाजिक सञ्जाल मार्फत नै दुत्कार्ने दुस्साहस गरिसकेका छन् ।
प्रधानमन्त्रीको कुर्सीमा पुगिसकेपछि उनले नेपाली राष्ट्रियता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई धज्जी उडाउँदै नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको,भनेर संसद्को औपचारिक बैठकमा प्रमकै हैसियतमा अभिव्यक्ति दिए । पृथ्वीनारायण शाहको पालादेखि भारत चिन सम्बन्धलाई सन्तुलित रूपले अघि बढाउनु पर्छ भन्ने मान्यतामा अहिले छुरा चलाउने काम भएको छ । टीओवी प्रकरण, स्वतन्त्र तिब्बतको छात्र सङ्गठनसँग सम्बद्ध व्यक्तिलाई गृहमन्त्री बनाइनु, भदौ २३ र २४ को बिध्वसपछि गठित सरकारलाई तिब्बतको निर्वासित सरकार र कथित धर्मगुरु दलाई लामाको शुभकामना सन्देशले नेपालको एक चीन नीतिमाथि पहिलो पटक प्रहार गरेको थियो । चीनले तिब्बत मामिलालाई असर पुग्ने गरी दलाई लामा र उनको समूहलाई संरक्षण दिने शक्ति प्रति सकारात्मक दृष्टिकोणले हेर्दैन । त्यस कुरालाई ख्याल राख्दै नेपालले दलाई लामा र उनको धार्मिक राजनीतिक समूहलाई नेपालमा गतिविधि गर्ने छुट दिएको थिएन । तर अहिले दलाई लामाको जन्मदिन मनाउन राज्य पक्ष नै औपचारिक रूपले सक्रिय हुने , त्यस कार्यक्रममा पश्चिमा कूटनीतिक क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गर्ने,दलाई लामालाई औपचारिक रूपमै नेपाल भ्रमण गराउने तयारी गर्ने र, यहाँसम्मकी दलाई लामाको आगामी उत्तराधिकारी समेत नेपाल मै तयार पारिएको प्रचार हुन थालेको छ । यो हर्कत नेपालको परराष्ट्र नीतिको बर्खिलाप छ । यसले नेपाल सधैँ असंलग्न परराष्ट्र नीतिमा विश्वास राख्छ भन्ने मान्यतालाई चकनाचुर पारिदिएको छ । राज्य शक्तिलाई एउटा विदेशी एजेन्टको हातमा सुम्पिदिएर परराष्ट्र सम्बन्धलाई एक पक्षीय र असन्तुलित बनाएको छ । नेपाल चीन विरोधी क्याम्पमा खुल्लम खुल्ला प्रवेश गर्यो भने त्यसको परिणाम कति भयावह हुन्छ भन्ने अहिले अनुमान लगाउन पनि सकिँदैन । नौटंकीबाज, सोसल मिडिया भाइरल व्यक्तिलाई राज्यको बागडोर सुम्पिँदाको परिणाम आज युक्रेनले भोगिरहेको छ । युक्रेनले आज देशको ठुलो भूभाग मात्र गुमाएको छैन ,त्यहाँका प्राकृतिक सम्पदा,खनिज संसाधन पनि गुमाएको छ । त्यसको सबभन्दा ठुलो असर त जन साधारणमा देखिएको छ । रुस युक्रेन युद्धको पृष्ठभूमि हाम्रो प्रम बालेन्द्र साह जस्तै झुर राष्ट्रपति जेलेन्स्कीको छिमेकी विरुद्ध विदेशीको उक्साहट हो ।
जेलेन्स्की र बालेन्द्र दुवै अमेरिकाका पाल्तु हुन । अमेरिकाको युक्रेन हत्याउने हतियार जेलेन्स्की बने भने तिब्बत हत्याउने र चीनलाई हिंसात्मक द्वन्द्वमा फसाउने जरिया बालेन्द्रलाई बनाइदैछ । यस्तो सङ्गिन अवस्थामा प्रमुख प्रतिपक्ष दल,प्रतिपक्ष दलहरू, कूटनीतिक र बौद्धिक जगत, जागरूक युवा बिधार्थीहरुको मौनता आश्चर्य लाग्दो छ । नेपाललाई पटक पटक द्वन्द्वमा फसाउने काम भैसकेको छ । त्यसरी द्वन्द्व सिर्जना गराउन विदेशी शक्तिको पनि हात छ । विदेशीहरू नेपाली सुखी भएको,समृद्ध भएको र शान्तिपूर्ण जीवनयापन गर्न सफल भएको देख्न सक्दैनन् । तिनीहरू आफ्ना तुच्छ स्वार्थको लागी नेपाली पवित्र मन र इमानदारीको दुरुपयोग गरिरहेका छन् र बारम्बार गर्न चाहन्छन् । सज्जन नेपालीको भोलापनको फाइदा उठाइरहेका विदेशीले केही एजेन्ट तयार पारेर सम्पूर्ण राष्टको अस्तित्व नै समाप्त पार्ने खेल खेल्दैछन । नेपाल असंलग्न परराष्ट्र नीतिको बाटोबाट यसरी भड्कँदा हुने विनाशलाई मध्यनजर गरेर पुराना र प्रतिष्ठित दलहरू त्यसलाई रोक्न अघि बढ्न विलम्ब गर्नु हुँदैन ।
















