मुख्यमन्त्री बानियाँद्वारा श्री चक्रज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवम् सामाजिक बिकास मन्त्री कन्चनचन्द्र बादे श्रेष्ठ र सामाजिक बिकास मन्त्रालयका सचिव खुबिरम अधिकारीको विशिष्ट आतिथ्यतामा श्री चक्रज्योति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले गुणस्तरीय शिक्षाको आधार बलियो भौतिक पूर्वाधार भएको उल्लेख गर्दै आधुनिक र सुविधासम्पन्न विद्यालय भवनले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले प्रदेश सरकारले शिक्षा क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेर विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरण, विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माण तथा गुणस्तरीय शिक्षाको पहुँच विस्तारका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधि, शिक्षाप्रेमी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *