नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बन्दा सरकार मूकदर्शक : सांसद गैरे
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले नेपाल मानव तस्करहरूको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै गैरेले प्रविधिको दुरुपयोग गरी भइरहेको मानव बेचबिखन र बढ्दो असुरक्षा रोक्न सरकारसँग कुनै ठोस योजना नभएको आरोप लगाइन् । सांसद गैरेले पछिल्लो समय प्रविधिको प्रयोगबाट मानिसहरू बेचबिखनको जालमा परिरहेको बताइन् । ‘बेरोजगारी र वैदेशिक रोजगारीको लोभ देखाएर हाम्रा बालबालिका, महिला र युवाहरू तस्करको फन्दामा परिरहेका छन्, उनले भनिन्, ‘बुटवलबाट विद्यार्थी हराएको, नारायणगढमा किशोरीको शव बोरामा भेटिएको जस्ता घटनाले नागरिकको जीउधनको सुरक्षामाथि प्रश्न उठाएको छ।’ उनले नेपाल आन्तरिक र बाह्य दुवै प्रकारका तस्करीको केन्द्र बनेको दाबी गरिन् ।
सरकारले युवाहरूको हितमा काम गर्ने दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको उनको तर्क थियो। ‘युवाहरूको सरकार भनियो तर युवाहरूले गरिखान नपाएर आत्मदाह गर्नुपर्ने स्थिति छ,’ उनले गणेश नेपालीको आत्मदाह प्रकरणलाई स्मरण गर्दै भनिन् । सुनसरीमा भएको सामाजिक सद्भाव बिथोलिने खालका घटना र सुकुमबासी बस्तीमा चलाइएको डोजरप्रति पनि उनले आपत्ति जनाइन् । सुकुमबासी व्यवस्थापनको नाममा बालबालिकाको उठीबास लगाएको भन्दै उनले भनिन्, ‘५ कक्षामा पढ्ने बच्चा सुत्ने ठाउँ नभएर अस्पतालको चिसो भुइँमा सुत्न बाध्य छ। यस्तो अवस्थामा सरकारले अभिभावकत्व ग्रहण गर्न सकेको छैन।’ संविधान संशोधनका लागि बनेको संयन्त्रप्रति लक्षित गर्दै उनले ‘जम्बो टिम’ ले मात्र संविधान संशोधन गर्न नसक्ने बताइन् । जनताको रगत र पसिनाबाट प्राप्त संविधानलाई आवश्यकता अनुसार संशोधन गर्दा ७५३ वटै स्थानीय तहको भावना समेट्नुपर्ने र सर्वदलीय सहमतिका आधारमा अघि बढ्नुपर्ने गैरेले बताइन् ।
















