सरकार कूटनीतिक रूपमा असफल भयो : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन्द्र साह नेतृत्वको सरकार कूटनीतिक रूपमा असफल भएको र संवैधानिक निकायका काममा कानुन विपरीत हस्तक्षेप गरेको बताएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारले सांसदहरूलाई कानुनभन्दा माथि राख्न खोजेको र संवैधानिक निकायहरूलाई दबाबमा पारेको आरोप लगाए । प्रवक्ता चालिसेले नियमावलीमार्फत सांसदहरूलाई अन्य कानुनभन्दा माथि बनाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गरे । उनले सुशासनका लागि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायलाई राजनीतिक दबाबमा राखेर सरकारले भ्रष्टाचार लुकाउन खोज्दैछ,’ उनले भने । यस्तै, अदालतबाट निर्णय दिने व्यक्तिलाई तत्काल सम्मान वा पुरस्कार दिनुले नैतिक प्रश्न उठ्ने भन्दै उनले न्यायपालिकाको गरिमा जोगाउन आग्रह गरे । सरकारको परराष्ट्र नीतिको आलोचना गर्दै चालिसेले कूटनीतिक अभ्यासमा सरकार चरम अपरिपक्व देखिएको बताए । ‘विकल्प नदिई विदेशस्थित राजदूतहरूलाई फिर्ता बोलाउनु र लामो समयसम्म अर्को नियुक्ति गर्न नसक्नु कूटनीतिक असक्षमता हो,’ चालिसेले भने, ‘सरकारका जिम्मेवार व्यक्तिहरूबाट छिमेकी मुलुकका सम्बन्धमा अस्वाभाविक टिप्पणी हुनुले मुलुकको छवि बिगारेको छ।’ प्रवक्ता चालिसेले गृहमन्त्री जोडिएको प्रकरणमा सरकारको छानबिन प्रक्रिया शंकास्पद रहेको बताए । हतार–हतार छानबिन समिति बनाउने तर त्यसको प्रतिवेदन सार्वजनिक नहुँदै पुनः नियुक्ति गरिनुले सरकारको नियतमा खोट देखिएको उनको तर्क थियो । उनले सरकारका सबै नियुक्ति र निर्णयहरू पारदर्शी र राजनीतिक प्रभावभन्दा माथि उठेर हुनुपर्नेमा जोड दिए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको साटो आतङ्कित बनाइरहेको कांग्रेसको ठहर छ। ‘सरकारका मन्त्रीहरू कानुन हातमा लिएर व्यवसायीका ‘हात भाच्ने’ जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरिरहेका छन्,’ प्रवक्ता चालिसेले भने, ‘निजी क्षेत्रमाथि आतङ्क मच्चाएर मुलुकको अर्थतन्त्र चल्न सक्दैन।’ कांग्रेसले सरकारलाई आफ्ना स्वेच्छाचारी निर्णयहरू सच्याउन र संविधानको सीमाभित्र रहेर कार्यसम्पादन गर्न चेतावनी समेत दिएको छ। उनले सरकारका सबै नियुक्तिमा ‘राजनीतिक छाया’ देखिएको भन्दै योग्यता र पारदर्शीताका आधारमा मात्र अघि बढ्न सुझाव दिए ।
सरकारका कामकारबाहीमाथि कांग्रेसले गर्‍यो १० प्रश्न
नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, सुशासन र कुटनीतिक मर्यादाको उपहास गरेको आरोप लगाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका कामकारबाहीमाथि गम्भीर १० प्रश्न उठाउँदै सरकारको नियतमाथि शंका व्यक्त गरे ।
यस्ता छन् प्रवक्ता चालिसेले सरकारमाथि उठाएका मुख्य १० प्रश्न
१. राज्य शक्तिको प्रयोग गरेर प्रेस स्वतन्त्रतालाई कुल्चने प्रयास किन गरिँदैछ ? के सरकार प्रश्न सोध्नेहरूको मुख थुन्न चाहन्छ ?

२. विपक्षी दलको सभापतिको घर अगाडि गृह मन्त्रालयको सहयोगमा गाडीहरू तेर्स्याएर अवरोध सिर्जना गर्नु कुन खालको लोकतान्त्रिक आचरण हो ?

३. सरकार ‘छाडा साँढे’ हो र ? के संविधानको सीमा र कानुनको सर्वोच्चता सरकार बाहिरका लागि मात्रै हो ? के सरकार कानुनभन्दा माथि रहने ‘छाडा साँढे बन्न खोजेको हो ?

४. राहदानी (पासपोर्ट) खरिद प्रकरणमा पारदर्शीता किन देखिएन ? भ्रष्टाचारका प्रमाणहरू बाहिरिँदा पनि सरकार किन मौन छ ?

५. सुशासनको कुरा गर्ने सरकारले सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति निष्पक्ष छानबिन गर्ने आँट किन गर्दैन ?

६. अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायलाई राजनीतिक दबाबमा राखेर भ्रष्टाचार लुकाउने प्रयास किन भइरहेको छ ?

७. विकल्प नदिई विदेशस्थित राजदूतहरूलाई फिर्ता बोलाउने तर लामो समयसम्म नियुक्ति गर्न नसक्नु सरकारको कुटनीतिक असक्षमता होइन र ?

८। गृहमन्त्री जोडिएको प्रकरणमा हतार–हतार छानबिन समिति बनाउने तर प्रतिवेदन सार्वजनिक नगर्दै पुनः नियुक्ति दिएर कसलाई जोगाउन खोजिएको हो ?

९. सरकारका मन्त्रीहरूले व्यवसायीलाई धम्की दिने र कानुन हातमा लिएर आतंक मच्चाउने कार्य किन गरिरहेका छन् रु व्यवसायीको ‘हात भाच्ने’ भाषा कति उपयुक्त हो ?

१०. सुनसरी र मधेसमा भएका साम्प्रदायिक र सामाजिक तनावका घटनामा सरकारले बनाउने ुदेखावटीु समितिको सट्टा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारलाई के को डर लागिरहेको छ ?

प्रवक्ता चालिसेले यी प्रश्नहरूको उत्तर सरकारले व्यवहारबाट दिनुपर्ने बताए । कांग्रेसले पत्रकार सम्मेलनमार्फत सरकारका नियुक्तिहरूमा देखिएको ‘राजनीतिक छाया’ र कुटनीतिक अपरिपक्वताले मुलुकलाई संकटतर्फ धकेल्ने चेतावनी समेत दिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *