सुदूरपश्चिममा कांग्रेसले उठायो देउवालाई पदमुक्त गर्ने सभामुखको निर्णयमा नियतको प्रश्न
सुदूरपश्चिम प्रदेशका सांसद प्रकाशबहादुर देउवालाई पदमुक्त गर्ने निर्णयमा नेपाली कांग्रेस संसदीय दलले नियतको प्रश्न उठाएको छ । दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले धनगढीमा पत्रकार सम्मेलन गर्दै पदमुक्त गर्ने निर्णयपछाडिको नियत स्पष्ट पार्न सभामुखलाई आग्रह गरे । ‘मुख्यमन्त्रीले विश्वासको मत लिनेभन्दा ठीकअघि सभामुखबाट भएको निर्णयप्रति ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘स्पष्टीकरणको मौकासमेत नदिएर हटाइएको छ । यद्यपि, पदमुक्तको निर्णय जायज वा नाजायज भन्दैनौँ ।’ गलत मनसाय र उद्देश्यले देउवालाई कारबाही गरिएको शाहले आरोप लगाए । ‘विश्वासको मतलाई प्रभाव पार्ने गरी सभामुखको अधिकार प्रयोग भयो,’ उनले भने ।
सभामुख भीमबहादुर भण्डारीले मंगलबार साँझ कांग्रेस सांसद देउवालाई पदमुक्त गर्ने निर्णय गरेका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि यसअघि २७ मत आवश्यक थियो । तर, देउवाको पदमुक्तिसँगै प्रदेशसभा ५१ सदस्यीय बनेको र विश्वासको मतका लागि अब २६ जना भए पुग्ने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्य तारा जोशी संघीय सांसद भएकाले उनको पद पनि रिक्त छ । साविक नागरिक उन्मुक्ति पार्टी ९नाउपा० भित्रको असन्तुष्टिपछि विश्वासको मत संख्या २७ बाट २६ मा झार्नकै लागि देउवालाई पदमुक्त गरिएको आरोप पनि लाग्न थालेको छ ।

















