१५ औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ। महाराजगञ्जस्थित डा. शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि तीन दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानुनी उपचार खोज्न सर्वोच्चमा जाने निष्कर्ष निकालेको हो। इतर समूहका नेता एनपी साउद र प्रचार,प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन रोक्न माग गर्दै शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गरिनेछ। पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइको अनुमति दिएकाले त्यसको टुङ्गो नलागेसम्म महाधिवेशनका गतिविधि अघि नबढाउन माग गर्दै रिट दायर गर्ने निर्णय भएको हो।
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्ने निर्णयसमेत इतर समूहले गरेको छ। देउवा र खड्काले दायर गरेको रिटमा नै सर्वोच्चले पुनरवलोकनको अनुमति दिएको थियो। गत माघ २ गते निर्वाचन आयोगले गरेको निर्णय र गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेञ्चले सोही निर्णयलाई सदर गरेको फैसलालाई पूर्ण इजलासले पुनरवलोकनको अनुमति दिएकाले पार्टी विवाद पुरानै अवस्थामा पुगेको इतर समूहको भनाइ छ। विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्णय पुनरवलोकन हुने भएपछि त्यसबाट चयन भएको समितिले महाधिवेशनको प्रक्रिया अघि बढाउन नसक्ने दाबी गर्दै अन्तरिम आदेश माग गर्न लागिएको नेता विश्वकर्माले बताए। कांग्रेसको निर्वाचन समितिले मङ्गलबार १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै आगामी भदौ २४ गते वडा अधिवेशन सुरु गर्ने जनाएको थियो। सार्वजनिक कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन आयोजना गर्ने तयारी छ।

















