भदौ ९ गतेदेखि भृकुटीमण्डपमा भव्य नाडा अटो शो आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। स्वर्ण जयन्ती विशेष संस्करणका रूपमा आयोजना हुने अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। सन् १९७५ मा स्थापना भएको नाडाले पाँच दशक पूरा गरेको अवसरमा आयोजना गर्न लागेको यो प्रदर्शनीलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रकै ठूलो मेलाका रूपमा प्रस्तुत गरिने नाडाले जनाएको छ। प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। अटो शोमा २३ वटा चारपाङ्ग्रे यात्रुवाहक सवारीसाधनका ब्रान्ड, १७ वटा साना तथा मझौला व्यावसायिक सवारीसाधनका ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे सवारीसाधनका ब्रान्ड सहभागी हुनेछन्। त्यसैगरी पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसँग सम्बन्धित करिब ७० कम्पनीको सहभागिता रहनेछ। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका १० वटा स्टलसमेत रहनेछन्। नाडाका अनुसार भृकुटीमण्डपको करिब तीन लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा विभिन्न नयाँ सवारीसाधन, प्रविधि तथा अटोमोबाइलसँग सम्बन्धित सामग्री अवलोकन गर्न सकिनेछ। नेपालमा पछिल्लो पाँच दशकमा अटोमोबाइल क्षेत्रको विस्तार उल्लेख्य रूपमा भएको छ। हालसम्म देशभर करिब ५५ लाख सवारीसाधन दर्ता भइसकेका छन्।

पछिल्ला पाँच आर्थिक वर्षमा मात्रै करिब ४७० अर्ब रुपैयाँ बराबरका सवारीसाधन तथा सम्बन्धित सामग्री आयात भएको र त्यसबाट सरकारले करिब ३५१ अर्ब रुपैयाँ भन्सार राजस्व प्राप्त गरेको नाडाले जनाएको छ। पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग पनि बढ्दै गएको छ। हालसम्म करिब ६३ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् भने तिनका लागि करिब दुई हजार चार्जिङ स्टेसन निर्माण भइसकेका छन्। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले स्वर्ण जयन्ती संस्करणको अटो शो केवल एउटा प्रदर्शनी मात्र नभई पाँच दशकमा नेपाली अटोमोबाइल क्षेत्रले गरेको विकास र योगदान प्रस्तुत गर्ने अवसर भएको बताए। उनका अनुसार अटोमोबाइल क्षेत्रलाई रोजगारी, राजस्व, हरित प्रविधि र आर्थिक गतिविधिसँग जोडेर थप व्यवस्थित रूपमा अघि बढाउन आवश्यक छ। नाडाले अटो शोमार्फत नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र आधुनिक मोबिलिटीका विषयमा समेत जानकारी दिने जनाएको छ। स्वर्ण जयन्ती विशेष संस्करण भएकाले यस वर्षको अटो शो विगतका संस्करणभन्दा थप आकर्षक र विशेष हुने नाडाले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *