नेशनल लाइफद्वारा अभिकर्ता आचारसंहिता जारी, ग्राहकको फोटोदेखि बोनसको प्रचारसम्म रोक
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्तालाई सामाजिक सञ्जालमार्फत बीमा व्यवसाय प्रवद्र्धन गर्दा कम्पनीको नाम, लोगो, बीमा योजना तथा ग्राहकसम्बन्धी विवरण जथाभावी प्रयोग नगर्न निर्देशन दिएको छ। कम्पनीले सामाजिक सञ्जालमा गलत सूचना तथा कम्पनीका बीमा योजनाको आफूखुसी व्याख्या हुन थालेपछि अभिकर्ताका लागि सामाजिक सञ्जाल आचारसंहिता जारी गरेको हो। कम्पनीले भदौ ३ गते प्रदेश तथा शाखा प्रमुखलाई पत्र पठाउँदै मातहतका सबै अभिकर्तालाई आचारसंहिताबारे जानकारी गराउन निर्देशन दिएको छ। कम्पनीका अनुसार केही अभिकर्ताले सामाजिक सञ्जालमा कम्पनीको नाम, लोगो तथा उत्पादनको दुरुपयोग गर्नुका साथै बीमा योजनासम्बन्धी सूचनाको गलत व्याख्या गर्दै आएका छन्। यस्तो कार्य प्रचलित कानुन, नेपाल बीमा प्राधिकरणबाट जारी ऐन, नियमावली तथा निर्देशिका र कम्पनीको नियम एवं प्रतिष्ठाविपरीत हुने भएकाले सचेत गराइएको हो। कम्पनीले आफ्ना अभिकर्तालाई कम्पनीको आधिकारिक सामाजिक सञ्जाल खातालाई तोडमोड गरी प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको छ। त्यस्तै कम्पनीको नाम, लोगो तथा बीमा उत्पादन आफूखुसी प्रयोग गर्नसमेत रोक लगाइएको छ। कम्पनीले अभिकर्तालाई औपचारिक रूपमा प्रदान नगरेका तथा प्रचलित कानुनमा व्यवस्था नभएका पदनाम प्रयोग गरेर सामाजिक सञ्जालमा प्रचार गर्न पनि नपाइने जनाएको छ। इन्स्योरेन्स एडभाइजर, फाइनान्सियल कन्सल्टेन्ट र वेल्थ एडभाइजर जस्ता पदनाम आफूखुसी प्रयोग नगर्न कम्पनीले भनेको छ। बीमा योजनाको प्रचार गर्दा पनि आधिकारिक विवरणबाहेक आफूखुसी व्याख्या नगर्न कम्पनीले भनेको छ। कम्पनीले बीमा योजनामा ब्याज प्राप्त हुने वा एकल योजनालाई फिक्स्ड डिपोजिट इन्स्योरेन्स प्लान जस्ता शब्द प्रयोग गरेर प्रचार गर्न रोक लगाएको छ। त्यस्तै मृत्यु दाबी, पूर्णावधि दाबी, समर्पण मूल्य तथा चुक्ता मूल्यजस्ता दाबी भुक्तानीका रकम सामाजिक सञ्जालमा उल्लेख गरी प्रचार गर्नसमेत कम्पनीले रोक लगाएको छ। यस्ता रकम सम्बन्धी विवरण गलत हुन सक्ने भएकाले अभिकर्ताले आफूखुसी अंक राखेर प्रचार गर्न नहुने कम्पनीको भनाइ छ।
कम्पनीले बीमितको दाबी भुक्तानी भएको विषयलाई प्रचार गर्ने क्रममा पनि गोपनीयतालाई विशेष ध्यान दिन निर्देशन दिएको छ। बीमित वा हकवालाको फोटो, चेक हस्तान्तरण गर्दाको फोटो वा नामसहितको व्यक्तिगत विवरण सामाजिक सञ्जालमा प्रकाशन गरी प्रचार नगर्न निर्देशन जारी गरेको छ। त्यसैगरी कम्पनीको बोनस दर सबैभन्दा बढी रहेको वा यस्तै प्रकारका दाबी गर्ने भाष्य प्रयोग गरी सामाजिक सञ्जालमा प्रचार गर्न पनि अभिकर्तालाई रोक लगाइएको छ। कम्पनीको नाममा अभिकर्ताले आफैं बीमाशुल्क वा अन्य कुनै रकम संकलन गर्न नहुने निर्देशनसमेत दिइएको छ। ग्राहकको व्यक्तिगत गोपनीयतालाई समेत कम्पनीले प्राथमिकतामा राखेको छ। ग्राहकको फोटो, नाम, ठेगाना लगायत व्यक्तिगत विवरण सम्बन्धित व्यक्तिको सहमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्न नपाइने आचारसंहितामा उल्लेख छ। कम्पनीले अभिकर्तालाई प्रचलित कानुन तथा अभिकर्ताका लागि तोकिएको आचारसंहिताविपरीत कुनै पनि गतिविधि नगर्न सचेत गराएको छ। आचारसंहिता उल्लंघन गरी कुनै कार्य गरेमा त्यसबाट हुने कारबाहीको सम्पूर्ण जिम्मेवारी सम्बन्धित अभिकर्ता स्वयंले लिनुपर्ने नेशनल लाइफले स्पष्ट पारेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत बीमा व्यवसाय विस्तार गर्दा ग्राहकलाई सही, आधिकारिक र विश्वसनीय सूचना उपलब्ध गराउने तथा कम्पनीको प्रतिष्ठा र बीमितको गोपनीयता कायम राख्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको जनाएको छ।


















