नाडा अटो शोमा पहिलोपटक सहभागी हुँदै यी ब्रान्ड

काठमाडौं। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८ औं संस्करणको नाडा अटो शोमा दुई पाङ्ग्रे सवारीसाधनतर्फ विभिन्न नयाँ ब्रान्डले आफ्ना उत्पादन प्रदर्शन गर्ने तयारी गरेका छन्। यसले नेपाली बजारमा पछिल्लो समय बढिरहेको नयाँ ब्रान्ड र नयाँ प्रविधिप्रतिको आकर्षणलाई समेत देखाएको छ। यसपटक नाडामा पहिलोपटक सहभागी हुने ब्रान्डमा चार पाङ्ग्रेमा जेटोर दुई पाङ्ग्रेमा यात्री, क्युजे मोटर, मेटा ईभीलगायतका ब्रान्ड रहेका छन्। केही ब्रान्डले पेट्रोल मोटरसाइकलमार्फते बजारमा उपस्थिति जनाउँदै छन् भने केहीले विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनमार्फत ग्राहकको ध्यान तान्न तयारी गरेका छन्। चिनियाँ ब्रान्ड क्युजे मोटर र मेटा ईभीले पनि नेपाली उपभोक्तामाझ आफ्ना उत्पादन प्रस्तुत गर्नेछन्। यसबाहेक भारतमा उत्पादन भएका रेभोल्ट र एम्पेयरका विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनले समेत नाडा अटो शोमा आफ्नो उपस्थिति जनाउने तयारी गरेका छन्। नयाँ ब्रान्डको प्रवेशले नेपाली अटो बजारमा उपभोक्ताका लागि छनोटको दायरा फराकिलो हुने अपेक्षा गरिएको छ। विशेषगरी ईभीतर्फ नयाँ प्रविधि, बढी रेन्ज, आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यमा उत्पादन ल्याउने होड बढ्दै गएको छ। नाडा अटो शोमा नयाँ ब्रान्डको सहभागिताले कम्पनीहरूबीच मात्र नभई ग्राहकलाई आकर्षित गर्ने रणनीतिमा समेत प्रतिस्पर्धा बढाउने देखिन्छ। नयाँ मोडल र प्रविधि सार्वजनिक गर्ने तथा बजार हिस्सा विस्तार गर्ने अवसरका रूपमा कम्पनीहरूले नाडा अटो शोलाई प्रयोग गर्दै आएका छन्। यसपटकको नाडा अटो शोमा १२ वटा ब्रान्डका दुई पाङ्ग्रे सवारीसाधन सहभागी हुने तयारीमा छन्। पुराना ब्रान्डसँगै नयाँ ब्रान्डको उल्लेख्य उपस्थितिले प्रदर्शनीलाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने अपेक्षा गरिएको छ। नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली अटो बजारमा अब ब्रान्डबीचको प्रतिस्पर्धा मात्र होइन, मूल्य, प्रविधि, रेन्ज, डिजाइन र बिक्रीपछिको सेवामा समेत प्रतिस्पर्धा चर्किने देखिएको छ। यसको प्रत्यक्ष लाभ भने नेपाली उपभोक्ताले पाउने सम्भावना छ।
नाडामा प्रदर्शनी हुने नयाँ ब्रान्डका दुई पाङ्ग्रे

यात्री पी २
नाडामा दुई पाङ्ग्रेतर्फ नयाँ ब्रान्डको रुपमा सहभागी भई पहिलो पटक प्रदर्शनी गर्ने ब्रान्ड यात्री हो। नेपालमै पहिलो पटक उत्पादन भएको यात्रीको इलेक्ट्रिक स्कुटर पी २ सर्वाधिक चासोमा रहेको छ। सिप्रदी र यात्रीले संयुक्त रूपमा बनाएको यो स्कुटर लन्च अगावै चर्चामा छ। यात्री पी टु स्कुटरको सम्पूर्ण डिजाइन, डेभलपमेन्ट र उत्पादनको काम नेपालमै गरिएको हो। नेपालमा उपलब्ध अन्य ब्राण्डका स्कुटरमा रहेका कमजोरी सुधार्दै पी २ लाई विशिष्ट किसिमको बनाइएको छ। यसमा अरू कुनै स्कुटरमा नभएका फिचर समेत राखिएको कम्पनीको भनाइ छ। पी टुमा दुई पाङ्ग्रे सवारीमै पहिलो पटक डीसी चार्जर उपलब्ध गराइएको छ। यात्री पी २ नेपालका १ हर्जन बढी ठाउँमा ७ हजार किमी बढी परीक्षण गरिसकिएको छ। औपचारिक रूपमा पी टुको हालसम्म कुनै विवरण बाहिरिएको छैन। परीक्षणको चरणमा देखिएका तस्बिर र कम्पनीले सार्वजनिक गरेको टिजर अनुसार पी टु झट्ट हेर्दा मोटरसाइकल जस्तो देखिन्छ। यसको डिजाइन अन्य स्कुटरभन्दा फरक देखिन्छ। अगाडिको फेन्डर र रियर पार्ट मस्कुलर देखिन्छ। सिटको तल यात्रीको निलो कलरको ब्याज प्रयोग गरिएको छ। मिडमाउण्ट मोटर रहेको पी टुमा एलईडी हेडल्याम्प दिइएको छ। यसमा सिट पनि निकै फराकिलो भएको अनुमान गर्न सकिन्छ। यात्रीले यसमा १४ इन्चको अलोय ह्वील प्रयोग गरेको छ। आल्मुनियम स्वीङ आर्म प्रयोग भएको देखिन्छ। त्यस्तै डबल साइडेड स्प्रिङ सस्पेन्सन समेत देखिएको छ। स्कुटरमा सार्प एजहरूको प्रयोग र फ्लोर वोर्ड पनि फराकिलो भएको अनुमान गर्न सकिन्छ। यसको ब्याट्री र मोटर पावर बारे कुनै जानकारी बाहिरिएको छैन।

क्युजे
नाडा अटो शोमा पहिलो पटक सहभागी हुन लागेको क्युजे नयाँ ब्रान्ड हो। यसलाई हाइली एड्भान्स मोटर (ह्याम्स)ले नाडामा प्रदर्शनी गर्ने छ। ह्याम्सले बाइक १२५ सिसीदेखि ३०० सिसीसम्मका पाँच मोडल र र स्कुटरमा ईभीका तीन र पेट्रोलका तीन मोडल प्रदर्शनी गर्ने अनुमान गर्न सकिन्छ। कम्पनीले नाडामा कुन कुन मोडल राख्ने भन्ने कुरा विस्तृतमा भने जानकारी दिएको छैन। क्युजे इटालिएन ब्रान्ड भए पनि यसको उत्पादन चिनमा हुन्छ। हाल क्युजे मोटरले १३० भन्दा बढी देशहरूमा आफ्ना उत्पादनहरू निर्यात गर्दै आएको छ। कम्पनीले साना क्षमताका स्कुटरदेखि लिएर उच्च क्षमताका नेकेड, क्रुजर, एड्भेन्चर र स्पोट्र्स मोटरसाइकल उत्पादन गर्दै आएको छ। त्यसका साथै पछिल्लो समय ईभी ९इलेक्ट्रिक भेइकल० प्रविधिमा पनि कम्पनीले तीव्र गतिमा लगानी बढाउँदै लगेको छ।

भिडा
नाडामा सहभागी हुन लागेको भारतीय इलेक्ट्रिक ब्राण्ड भिडा नेपाली बजारमा आएको नयाँ ब्रान्ड हो। नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले भिडा सार्वजनिक गरिसकेको छ। यो ब्रान्ड नेपाली बजारमा पहिले नै सार्वजनिक भएपनि नाडा अटो शोमा भने पहिलो पटक सहभागी हुन लागेको हो। कम्पनीले भीएक्स टुको दुई भेरियन्ट उपलब्ध गराएको छ। जसमा भीएक्स २ गो भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र प्लस भेरियन्टको ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ। भिडा भीएक्स २ दुई ब्याट्री अप्सनमा पाउन सकिन्छ। गो भेरियन्टमा सानो २.२ किलोवाट आवर र प्लस भेरियन्टमा ४.४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ। यी ब्याट्रीले एक पटकको फुलचार्जमा क्रमशः ९३ किलोमिटर र १८७ किलोमिटर आइडीसी रेन्ज दिन्छ।

मेटा ईभी
मेटा ईभी नाडा अटो शोमा पहिलो पटक सहभागी हुन लागेको नयाँ ब्रान्ड हो। यो ईभी कुन कम्पनीले कुन कुन मोडल अटो शोमा प्रदर्शनी गर्छ भन्ने जानकारी बाहिर आएको छैन।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *