नयाँ जहाजबाट बुध्दको उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडा
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले भर्खरै थप गरेको नयाँ सिरिजको एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ । बुध्दले शुक्रबार बिहान ९एन एओएस कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रुसहित काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान सुरु गरेको हो । फ्रान्सको तुलुसबाट गत जुलाई २५ मा नेपाल ल्याइएको यस जहाजले आवश्यक प्राविधिक र नियामकीय प्रक्रिया पूरा गरी एक महिनापछि सेवा सुरु गरेको हो । यो जहाज आधुनिक उडान प्रणाली (एभियोनिक्स), पूर्ण ग्लास ककपिट, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणालीले सुसज्जित छ । वातावरणीय दृष्टिले कम इन्धन खपत गर्ने र आरएनपी–एआर नेभिगेसन प्रणालीका कारण कम भिजिबिलिटीमा पनि सहजै उडान,अवतरण गर्न सक्ने यसको विशेषता रहेको कम्पनीले जनाएको छ । यसका साथै यात्रु सिट र ओभरहेडबिन पहिलेका सिरिजभन्दा ठुला र आरामदायी हुनुका साथै जहाजभित्र ध्वनिको स्तर पनि निकै कम छ ।
चाडपर्वसम्म सस्तो भाडादर कायम रहने
नयाँ जहाज थपिएसँगै बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले हालैको बाढीका कारण राजमार्गहरू अवरुद्ध भएको अवस्थामा यात्रुको सहजताका लागि सस्तो भाडादर कायम राख्ने घोषणा गरेका छन् ।

भदौ १० मा रसुवामा आएको बाढीले सडक सञ्जालमा पुर्याएको क्षतिका कारण सर्वसाधारणलाई सास्ती भइरहेकाले राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडादरमै उडान सञ्चालन गरिने उनले बताए । ‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत विकल्प दिनु हाम्रो दायित्व हो,’ अध्यक्ष बस्नेतले भने, ‘यो सस्तो भाडादर आगामी दशैं तिहार र छठ पूजासम्म कायम रहनेछ । यसबाट कम्पनीलाई आर्थिक भार परे पनि राष्ट्रलाई आवश्यकता परेका बेला योगदान गर्नु हाम्रो कर्तव्य हो ।’ हवाई इन्धनको मूल्य अत्यधिक बढे पनि कम्पनीले भाडामा न्यून वृद्धि मात्र गरेको तथ्यांक सार्वजनिक गरेको छ । पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्य प्रतिलिटर १२७ रुपैयाँबाट ९६ प्रतिशतले बढेर २४९ रुपैयाँ पुग्दा काठमाडौं–भैरहवाको भाडादरमा भने केवल १४ प्रतिशत मात्र वृद्धि गरिएको छ । बुध्द एयरका अनुसार कुल सञ्चालन खर्चमा इन्धनको हिस्सा ३५ देखि ४० प्रतिशत हुने भए पनि यात्रुको मर्कालाई ध्यानमा राखी भाडादर नियन्त्रण गरिएको हो । बुध्द एयरसँग हाल १४ वटा एटीआर–७२–५०० र एउटा नयाँ एटीआर–७२–६०० जहाज गरी कुल १५ वटा जहाज रहेका छन् । कम्पनीले चाँडै अर्को एउटा एटीआर–७२–६०० जहाज पनि भित्र्याउने तयारी गरेको छ । हाल कम्पनीले आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान भर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ भारतको वाराणसी र कोलकातामा नियमित उडान गरिरहेको छ । बुध्द एयरले विपद्को समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७ हजार ३ सय २२ केजी राहत सामग्री विभिन्न जिल्लाबाट निःशुल्क ढुवानी गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिसकेको छ । भद्रपुर, भरतपुर, सुर्खेत, धनगढी, विराटनगर, भैरहवा र पोखरा लगायतका सहरबाट संकलित राहत सामग्री कम्पनीले निःशुल्क ओसारेको दाबी पनि बुध्दले शुक्रबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

















