चोलेन्द्र पक्राउबारे एसएसपी खड्काले भने– ‘सुरक्षा थ्रेट’ भएकाले कार्यालयमा ल्याएका हौँ
काठमाडौं । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेटपछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् । एसएसपी खड्काले जानकारी दिएका हुन् । गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो । रातारात जबरालाई पक्राउ किन गरियो भन्ने प्रश्नमा एसएसपी खड्काले भने, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं ।’ जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले कुनै पनि अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ । प्रहरी पक्राउ गर्न आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । प्रभुशम्शेरले पनि आज बिहान कुरा गर्दै भने, ‘जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेछन् ।’ प्रभुशम्शेरका अनुसार जबरालाई अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ । प्रहरीले कसैलाई भेट्न समेत नदिएको उनी निकट स्रोत बताउँछ । अहिले उनका छोरा भेट्न भन्दै टेकु पुगेका छन् ।
















