कांग्रेस उपसभापतिमा मेरो उम्मेदवारी किन ?
नेपालको सबैभन्दा पुरानो, लोकतान्त्रिक र गौरवशाली इतिहास बोकेको पार्टी नेपाली कांग्रेस यतिबेला आफ्नो १५औं महाधिवेशनको ऐतिहासिक चरणमा छ । यो महाधिवेशन विगतका नियमित आवधिक भेलाहरूभन्दा गुणात्मक रूपमै भिन्न र युगान्तकारी मोडमा सम्पन्न हुँदैछ । विशेषगरी २०८२ भदौ २३ र २४ गते उर्लिएको ‘जेनजी’आन्दोलनपछि विकसित घटनाक्रमले समग्र देशको राजनीति र समाजलाई मात्र होइन, हाम्रो पार्टी नेपाली कांग्रेसको अन्तरचेतनालाई समेत गम्भीर रूपमा झकझक्याएको छ । त्यो आन्दोलनले खोजेको परिवर्तन र नयाँ पुस्ताको जायज आक्रोशलाई सम्बोधन गर्न हामीले यसबीचमा विशेष महाधिवेशन सम्पन्न गर्यौं, जसले युवाहरूलाई पार्टी संगठन र नीतिगत तहमा थप ‘स्पेस’ दिने एउटा साहसिक सुरुआत गर्यो । तर, संगठनमा युवाहरूको भौतिक उपस्थिति बढाउनु मात्र पर्याप्त होइन । आजको मूल प्रश्न त सात दशक लामो ऐतिहासिक विरासत बोकेको नेपाली कांग्रेसलाई वर्तमान डिजिटल युग अनुकूल कसरी रूपान्तरण गर्ने भन्ने हो । दिनप्रतिदिन गहिरिँदो निराशातर्फ धकेलिइरहेको नेपाली समाजमा नयाँ आशा र नयाँ विश्वासको रक्तसञ्चार गर्नु आजको पहिलो राष्ट्रिय दायित्व हो। यही ऐतिहासिक पृष्ठभूमि र युगको पुकारलाई आत्मसाथ गर्दै मैले कांग्रेसको १५औं महाधिवेशनमा समावेशीतर्फबाट ‘उपसभापति’ पदमा उम्मेदवारी दिने अठोट गरेको छु । मेरो यो उम्मेदवारी केवल कुनै पदको औपचारिकता पूरा गर्नका लागि होइन, बरु नेपाली कांग्रेसको नेतृत्वमा युवा नेताहरूलाई स्थापित गर्दै देशको समृद्धिको नेतृत्व लिने एउटा दृढ संकल्प हो । नेपाली कांग्रेससँग राजनीतिक स्वतन्त्रताका लागि भएका हरेक आन्दोलनको नेतृत्व गर्ने गौरवशाली इतिहास छ । राणा शासनको अन्त्यदेखि पञ्चायतको पराजय र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म कांग्रेस राजनीतिक लडाइँको सधैं अग्रपंक्तिमा रह्यो । तर अब त्यही पुरानो इतिहासको ब्याज मात्र खाएर आधुनिक समयको माग पूरा हुन सक्दैन । अब कांग्रेसलाई राजनीतिक स्वतन्त्रतासँगै ‘आर्थिक क्रान्ति’को समेत नेतृत्व गर्ने पार्टीका रूपमा स्थापित गरी नयाँ इतिहास लेख्नुपर्ने बेला आएको छ । त्यसका लागि दशकौंदेखि चल्दै आएको ‘राजनीतिका लागि राजनीति’ गर्ने निरर्थक परम्परालाई तोडेर राजनीति र अर्थनीतिलाई सँगसँगै अगाडि बढाउनु अनिवार्य भएको छ । हाम्रो पार्टीको वैचारिक धरातल अत्यन्त मजबुत छ । जननायक बीपी कोइरालाको दूरदर्शी राजनीतिक सोच र सुवर्ण शमशेर जबराको व्यावहारिक आर्थिक विकासको नीतिलाई आजको २१औं शताब्दी अनुकूल संयोजन गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउनु आजको प्रमुख वैचारिक कार्यभार हो । समुन्नत नेपाल निर्माण गर्ने आदरणीय पार्टी सभापति गगन कुमार थापाको सोचलाई सही अर्थमा कार्यान्वयन गर्न पनि नीति, योजना र कार्यान्वयन तहमा अर्थतन्त्र बुझेको नेतृत्वको खाँचो छ । वि.सं. २०४८ सालमा नेपाली कांग्रेसको सरकारले सुरु गरेको तर विभिन्न राजनीतिक अस्थिरताका कारण बीचमै अवरुद्ध हुन पुगेको आर्थिक सुधारको प्रक्रियालाई वर्तमान समयको आवश्यकता अनुरूप तीव्र गतिमा अगाडि बढाउने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । आजको दुनियाँ प्रविधिको अभूतपूर्व विकासबाट सञ्चालित छ । यस्तो परिवेशमा हाम्रो पार्टी पुरानै ढर्रामा चल्न सक्दैन । कांग्रेसलाई वर्तमान विश्व परिवेश अनुकूल रूपान्तरण भएको आधुनिक र प्रविधियुक्त पार्टीका रूपमा स्थापित गर्नुपर्छ । भदौको जेन–जी मुभमेन्टले स्पष्ट सन्देश दिएको छ– नयाँ पुस्ता भाषण होइन, परिणाम र अवसर चाहन्छ । त्यसैले त्यो आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै देशका युवाहरूलाई सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग आबद्ध गराएर नेपाललाई द्रुत गतिमा ‘डिजिटल इकोनोमी’तर्फ डोर्याउनु मेरो मुख्य कार्ययोजना हो । हाम्रा सिर्जनशील युवाहरूका लागि स्टार्टअपका पर्याप्त अवसरहरू सिर्जना गर्दै उनीहरूलाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी दिने उद्यमी बनाउन सकिन्छ । म दृढतापूर्वक भन्न चाहन्छु, प्रत्येक वर्ष रोजगार बजारमा आउने साढे पाँच लाख युवाहरूलाई देशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न सम्भव छ र त्यो हामीले गरेर देखाउनु पर्छ। राजनीतिको केन्द्रमा आर्थिक विकासका एजेन्डा स्थापित नगरेसम्म यो सम्भव हुँदैन । त्यसैले समावेशी विकास र तीव्र आर्थिक वृद्धिदरका माध्यमद्वारा समग्र आर्थिक विकासलाई नै कांग्रेसको मुख्य प्राथमिकता बनाउनु मेरो उम्मेदवारीको अर्को मूल कारण हो । यसका लागि देशमा आन्तरिक लगानीकर्तालाई कुनै प्रशासनिक झन्झट वा अवरोधबिना ढुक्कसँग लगानी गर्ने वातावरण तयार गर्नुपर्छ भने अर्कातर्फ नेपाललाई प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रमुख आकर्षण केन्द्र बनाउनुपर्छ । आर्थिक विकास केवल काठमाडौं वा केही सुगम सहरमा मात्र सीमित हुनु हुँदैन । क्षेत्रीय आर्थिक असमानता घटाउनका लागि सातै प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गर्नु संघीयताको वास्तविक सफलता हो । मैले समावेशीतर्फ उपसभापतिमा उम्मेदवारी दिनुको अर्थ पनि यही हो कि, सीमान्तकृत र पिछडिएका समुदायलाई केवल राजनीतिक भाषणमा सीमित नराखी उद्यमशीलता, आधुनिक सीप र वित्तीय पहुँचमार्फत उनीहरूको वास्तविक आर्थिक सशक्तीकरण गरियोस् । तर, यी सबै सपना र योजनाहरू सुशासनबिना निरर्थक हुन्छन्। त्यसैले भ्रष्टाचारको निर्मम अन्त्य र सुशासनको पक्षमा दृढतापूर्वक काम गर्नु मेरो अविचलित अडान हो। विकास र समृद्धिको पहिलो सर्त नै विधिको शासन हो। अन्त्यमा, पार्टी संगठनको जीवनमा म पुस्ता–संघर्षको होइन, पुस्तान्तरण र पुस्ताबीचको सहकार्यको पक्षपाती हुँ। अग्रज र अनुभवी नेतृत्वको ज्ञान एवं नयाँ पुस्ताको ऊर्जा र प्रविधिलाई एकाकार गरेर मात्र आजको आधुनिक कांग्रेस निर्माण हुन सक्छ। नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र, नीतिगत पारदर्शिता, वर्षौंदेखि पार्टीका लागि पसिना बगाएका निष्ठावान् कार्यकर्ताको सम्मान र आम नागरिकप्रतिको जवाफदेहितालाई नै हामीले आफ्नो पार्टी संस्कृतिको मूल आधार बनाउनुपर्छ। राजनीतिक परिवर्तनको लामो अध्याय पार गरेर हामी अब आर्थिक समृद्धिको ऐतिहासिक परीक्षामा उभिएका छौं। पद मेरो लागि साध्य होइन, देशको आर्थिक रूपान्तरण र कांग्रेसलाई डिजिटल युगको गतिशील पार्टी बनाउने साधन मात्र हो। म समस्त महाधिवेशन प्रतिनिधि साथीहरू, अग्रज नेतृत्व र ऊर्जावान् युवा पुस्तालाई समृद्ध नेपाल निर्माणको यो नयाँ यात्रामा सँगै हिँड्न हार्दिक आह्वान गर्दछु।जय नेपाल !
















