सिटिजन लाइफद्धारा १० करोड खुद नाफा आर्जन, जीवन बीमाकोष २९ अर्ब नाघ्दा अधिकांश सूचकमा चमक
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा २३.९० प्रतिशतले घटेको हो । कम्पनीले आजै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल आम्दानी १३.०८ प्रतिशतले बढेर ३ अर्ब ७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यस्तै कम्पनीको कुल खर्च १४.९६ प्रतिशतले बढेर २ अर्ब ९७ करोड २ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च २ अर्ब ५८ करोड ३६ लाख लरुपैयाँ रहेको थियो । आम्दानीको तुलनामा खर्चको वृद्धिदर बढी हुँदा कम्पनीको नाफामा दबाब परेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १६.८२ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब १२ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, कर्जा तथा लगानीबाट प्राप्त आम्दानी भने ०.७३ प्रतिशतले घटेर ५४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म यस्तो आम्दानी ५४ करोड ८९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जीवन बीमा कोषमा उल्लेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ रहेको जीवन बीमा कोष चालु आर्थिक वर्षको सोही अवधिसम्म आइपुग्दा ३५.०७ प्रतिशतले बढेर २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको महाविपत्ति कोष ३.७१ प्रतिशतले बढेर २७ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने सञ्चित मुनाफा १७.८१ प्रतिशतले वृद्धि भएर ५८ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीको अभिकर्ता कमिसन खर्च १४.९४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० रुपैयाँ ५२ पैसा रहेको ईपीएस चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घटेर ८ रुपैयाँ १ पैसामा झरेको छ । त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५० पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी भने ५ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

















