बिनाविवाह बच्चा जन्माएको आरोपमा साउदीमा महिलालाई १०० कोर्रा हान्ने
काठमाडौं । साउदी अरबमा कार्यरत ४० वर्षीया केन्याली घरेलु कामदार एस्थर वान्जा मुथोनीलाई विवाहपूर्व शारीरिक सम्बन्ध राखेको अभियोगमा अदालतले १०० कोर्रा हान्ने सजाय सुनाएको छ । उनी एक वर्षको छोरासहित स्वदेश फर्कने प्रयासमा रहे पनि कानुनी प्रक्रियाका कारण साउदी अरबमै रोकिएको द न्युयोर्क टाइम्सले जनाएको छ । मुथोनी साउदीको एक परिवारमा हाउसकिपर तथा बालबालिकाको हेरचाह गर्ने काम गर्थिन् । सोही क्रममा इजिप्टका एक पुरुषसँग सम्बन्धमा रहेकी उनी गर्भवती भइन् । तर, बच्चा जन्मनुअघि नै ती पुरुष साउदी छाडेर गएका जनाइएको छ । अस्पतालमा भर्ना भएपछि उनको अवस्थाबारे जानकारी सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । गएको महिना एक अन्तर्वार्तामा मुथोनीले आफू निकै डराएको बताएकी थिइन् । उनले भनेकी थिइन्, “म निकै डराएकी छु । म कोर्रा हान्ने सजाय सहन सक्छु जस्तो मलाई लाग्दैन ।” साउदी अरबमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु गैरकानुनी मानिन्छ । विशेष गरी महिला कानुनी कारबाहीको जोखिममा पर्ने गरेका छन् ।
केन्यासहित अफ्रिकी मुलुकबाट साउदी पुगेका आप्रवासी घरेलु कामदारको अवस्था पनि असुरक्षित रहेको मानव अधिकार समूहहरूको भनाइ छ । एक प्रतिवेदनानुसार, साउदीमा काम गर्ने क्रममा सयौँ केन्याली महिला कुटपिटमा परेका छन् । धेरै महिलाले बलात्कार तथा शारीरिक हिंसा भोगेका छन् । मानव अधिकारवादी संस्थाहरूले मुथोनीमाथि सुनाइएको सजायको निन्दा गरेका छन । बेलायतस्थित संस्था अल्क्वेस्टकी कार्यवाहक निर्देशक मरियम अलदोसारीले उक्त सजायलाई हिंसाको रूप भन्दै मुथोनीलाई स्वदेश फर्कन दिनुपर्ने माग गरेकी छन् । बच्चा जन्माएपछि मुथोनीलाई कामदार आवासमा फर्कन दिइएन । त्यसपछि उनी पेट्रोल पम्पमा बस्न बाध्य भएकी थिइन् । उक्त स्थान स्वदेश फर्कने प्रतीक्षामा रहेका आप्रवासी आमाहरू भेला हुने थलो बनेको जनाइएको छ । सञ्चारमाध्यममा उनको अवस्था सार्वजनिक भएपछि बस्ने ठाउँको व्यवस्था गरिएको थियो । मुथोनीले आफूलाई दोभासे उपलब्ध गराइए पनि आफ्नो पक्षमा बहस गर्न वकिल उपलब्ध नगराइएको गुनासो गरेकी छन् । द न्युयोर्क टाइम्स तथा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा

















