भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक गाडी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, प्रहरी निरीक्षक उमाशंकर प्रसाद, प्रदेशको पूर्वाधार विकास कार्यालयका एक इन्जिनियर र वाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन् ।

प्रजिअ अधिकारीका अनुसार समितिले सवारीसाधनको क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको, रुट इजाजत, चालकको अवस्था तथा सडकको भौतिक अवस्थाबारे छानबिन गर्नेछ । आगामी दिनमा दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले अपनाउनुपर्ने उपाय प्रतिवेदनमा समेटिनेछ । भीमफेदी–देउराली सडकखण्डमा पछिल्लो १३ महिनामा तीनवटा ठूला दुर्घटना भएको उल्लेख गर्दै उनले सडक सुरक्षामा तत्काल सुधार आवश्यक रहेको बताए । सवारीसाधनमा लागु गरिएको ‘टाइम कार्ड’ मात्रै दुर्घटना रोक्ने पर्याप्त उपाय नभएको उनको भनाइ छ । आज बिहान काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको गाडी सडकबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको थियो । प्रहरीका अनुसार, दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रासस

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *