‘कुमार बेन प्रकरणमा प्रधानमन्त्रीले लिने कदममा रास्वपाको समर्थन’

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा ‘बिचौलिया’ इनम सापकोटाको मोबाइल फोन लगिएको घटना सार्वजनिक भएपछि त्यसबारे पार्टीको धारणा माग्दा प्रवक्ता खरेलले यो विषय सरकारकै क्षेत्राधिकारभित्र पर्ने बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका विषयमा प्रधानमन्त्री स्वयंले आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे । उनले सरकारका आन्तरिक काम–कारबाही र त्यसअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा राजनीतिक हस्तक्षेपको आरोप लाग्न सक्ने बताए । “सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका विषयहरू सरकार र प्रधानमन्त्रीज्यूको कार्यक्षेत्रभित्र पर्ने भएकाले यसबारे आवश्यक निर्णय लिने जिम्मेवारी सरकारकै हो,” उनले भने, “पार्टीले सरकारका आन्तरिक काम–कारबाही र सरकारी निकायका विषयमा अनावश्यक हस्तक्षेप गर्नुभन्दा प्रधानमन्त्रीज्यूलाई नै आवश्यक निर्णय लिन दिनुपर्छ भन्ने हाम्रो बुझाइ छ ।”

प्रमुख सल्लाहकारलाई छानबिनको दायरामा ल्याउन पार्टीले नै पहल गर्नुपर्ने हो कि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले प्रधानमन्त्रीले आवश्यक ठानेर कुनै पनि व्यक्तिबाट गलत काम भएको निष्कर्ष निकाल्दै कारबाही प्रक्रिया अघि बढाए रास्वपाको साथ रहने स्पष्ट पारे । उनले प्रधानमन्त्रीले आवश्यक कदम चाल्न चाहेमा पार्टीले त्यसमा पूर्ण सहयोग गर्ने पनि बताए । उक्त विषय पार्टीमा औपचारिक रूपमा प्रवेश नगरेको जानकारी उनले जानकारी दिए । “प्रधानमन्त्रीज्यूले कुनै विषयमा गल्ती भएको र आवश्यक कदम चाल्नुपर्ने महसुस गर्नुभयो भने उहाँले लिने निर्णयमा पार्टीको पूर्ण समर्थन र सहयोग रहनेछ, । रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जान लागेको र पार्टी सभापति छठ पर्व मनाउन तराईमा रहेकाले यस विषयमा औपचारिक छलफल हुन नसकेको उनको भनाइ थियो । “यस विषयले पार्टीमा औपचारिक रूपमा प्रवेश पाइसकेको छैन । अहिले पार्टीको महामन्त्रीको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै छ भने पार्टी सभापति छठ पर्व मनाउन तराईमा हुनुहुन्छ,” उनले भने, “त्यसैले यस विषयमा पार्टीभन्दा पहिले सरकार र प्रधानमन्त्रीज्यूको धारणा तथा निर्णयलाई प्राथमिकता दिनुपर्छ ।” चीन भ्रमणमा जान लागेको रास्वपा प्रतिनिधिमण्डललाई बिदाइ गर्ने क्रममा सञ्चारकर्मीसँग प्रवक्ता खरेलले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग जोडिएको विवादबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *