हिमालयन डिष्टिलरीको नाफा १३८ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले यस अवधिमा २१ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद नाफा १३८.१८ प्रतिशतले वृद्धि भएको हो । मुख्यतः बिक्री आम्दानीमा भएको उल्लेख्य सुधार र बिक्री तथा वितरण खर्चमा आएको कमीले नाफामा आकर्षक उछाल देखिएको हो । पहिलो त्रैमासमा कम्पनीको खुद बिक्री आम्दानी ५३.८३ प्रतिशतले बढेर ९१ करोड २८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद बिक्री आम्दानी ५९ करोड ३४ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीले कुल सञ्चालन आम्दानी १ अर्ब ७६ करोड २९ लाख रुपैयाँ गरेकोमा अन्तःशुल्क बापत ८५ करोड रुपैयाँ कट्टी भएको छ । आम्दानी बढेसँगै कम्पनीको कुल नाफा ६७.३९ प्रतिशतले वृद्धि भई ६० करोड ४४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १६९.१३ प्रतिशतले बढेर ३३ करोड ८५ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो मुनाफा १२ करोड ५८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले बिक्री तथा वितरण खर्च १२ करोड १९ लाख रुपैयाँबाट घटाएर ८ करोड ५१ लाख रुपैयाँमा सीमित गरेको छ । यद्यपि, कर्मचारी खर्च भने ८ करोड ९ लाख रुपैयाँबाट बढेर ११ करोड ६८ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा सञ्चित कोष ४८.४१ प्रतिशतले बढेर १ अर्ब ७५ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल सम्पत्ति ६ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण शून्य छ । नाफामा भएको उच्च वृद्धिसँगै कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी पनि उकालो लागेको छ । गत वर्ष ९.७९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष बढेर २३.३२ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १३८.४० रुपैयाँबाट बढेर १४७.४९ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात ५६.१४ गुणा र तरलता अनुपात ६.३६ गुणा रहेको छ । कम्पनीले प्रिमियम सेगमेन्टमा ‘श्लोक सिङ्गल माल्ट ह्विस्की’ उत्पादन तथा बजारीकरणको तयारी तीव्र पारेको जनाएको छ । साथै, प्यासन फुड्स एण्ड बेभरेज प्रा.लि. मा ५ प्रतिशत स्वामित्व खरिद गरी ‘प्यासन कुलर कोला’ को उत्पादन तथा वितरण निरन्तर गरिरहेको र उप–उत्पादनको रूपमा ‘डीडीजीएस’ बिक्री गरी आम्दानीका स्रोत विविधीकरण गरेको उल्लेख गरेको छ । यसका साथै, करिब ६० हजार वर्ग फिट गोदाममा नयाँ बोटलिङ लाइन जडान कार्य अगाडि बढाएको र ‘रेडी टु ड्रिङ्क’ क्यानिङ लाइन जडान गर्ने योजना समेत रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *