वैभवी सापकोटालाई थाइल्यान्डमा दुई पदक

काठमाडौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् । बैंककस्थित फेसन आइल्याण्डको स्पोर्ट्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् ।

त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक प्राप्त गरेकी हुन् । वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजतपदक प्राप्त गरेकी थिइन् । शनिबार र आइतबार चलेको उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिंगापुर र भियतनामका करिब तीन हजार खेलाडीको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *