आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्धको आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउने भन्दै आन्दोलनको मानसिकताका साथ तयार रहन निर्देशन दिएका हुन्। उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले असह्य भएपछि आन्दोलन तत्काल हुनसक्ने उल्लेख गरे। आतंकपूर्ण वातावरण र कृयाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि, त्यस्तो आतंक सधैँ कायम नरहने र आत्मविश्वास तथा मनोबलकासाथ अगाडि बढ्ने ओलीको भनाइ छ।

अध्यक्ष ओलीले चुनावको माध्यमबाट पार्टी बनाउन खोज्नेहरूका विरुद्ध पार्टी लिएर आगामी चुनावमा जित्न जाने उल्लेख गरे। त्यस्तै उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गरे। अघिपछि हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा बिघटनको मुद्दामा अहिलेसम्म फैसला गर्न नसकेको उनको भनाइ छ । ओलीले समयमा न्याय प्राप्त नहुनु र ढिला प्राप्त हुनु भनेको न्याय प्राप्त नहुनुजस्तै भए पनि अदालतका विषयमा थप नबोल्ने बताए । अदालतका बारे धेरै बोल्दा आफूमाथि मानहानीको मुद्दा थपिन सक्ने ओलीको भनाइ थियो। आगामी दिनमा जनताको घरदैलोमा पुग्ने, किसान र जनतासँग संवाद गर्ने तथा पार्टीलाई अझ बढी सशक्त बनाएर देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने काममा जुट्न नेता कार्यकर्तालाई ओलीको निर्देशन थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *