१९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानीत
काठमाडौं । सरकारले १५ औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको हो । यसबाहेक विभागले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान समेत गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज करदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरे । कार्यक्रममा उनले यस प्रकारको सम्मानले कर तिर्न प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरे । करदातालाई प्रोत्साहन गर्न र कर प्रशासन सुधारमा यस वर्ष सरकारले व्यापक कार्यक्रम ल्याएको भन्दै त्यसबाट लाभ उठाउन समेत उनले आग्रह गरे । यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शााह पुरस्कृत भए । निकायतर्फ आयकर बढी तिर्नेमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सरकारले हरेक वर्ष बढी कर तिर्ने करदातालाई राष्ट्रिय कर दिवसको अवसर पारेर सम्मान गर्दै आएको छ ।

राजबहादुर शाह
नेपालमा सरकारलाई बढी आयकर तिरेर निरन्तर सम्मानित हुने व्यक्तिका रुपमा राजबहादुर शाह सम्मानित भएका छन् । उनी विजय बहादुर शाहका छोरा हुन् । शाह परिवारले जाउलाखेल ग्रुप अफ इन्ड्रष्टिज सञ्चालन गरिरहेका छन् । राजबहादुर लगातार तेस्रो वर्ष बढी आयकर तिर्ने करदाता बन्न सफल भए । उनले राष्ट्रिय कर दिवसको अवसर पारी २०८१, २०८२ र २०८३ सालमा यो पुरस्कार पाएका छन् ।

सूर्य नेपाल
सूर्य नेपालले विसं २०४३ देखि सिमरामा चुरोट उत्पादन गर्दै आएको छ । तराईमा असुरक्षा महसुस गर्दै कम्पनीले विगत छ वर्ष अगाडि तनहुँको शुक्लागण्डकी नगरपालिकामा उद्योग स्थापना गरेको थियो । १४५ रोपनी क्षेत्रफलमा फैलिएको तनहुँ प्लान्टबाट कम्पनीले वार्षिक छ अर्ब खिल्ली चुरोट उत्पादन गर्छ । सूर्य नेपालमा भारतीय कम्पनी आईटीसीको ५९ प्रतिशत लगानी छ। प्रभाकर शमशेर राणाको सूर्य इन्टरप्राइजेजसँगै अन्य १० वटा समूहको ३९ प्रतिशत सेयर हिस्सा छ भने २ प्रतिशत ब्रिटिस–अमेरिकन टोबाकोको सेयर छ । कम्पनीले सूर्य, शिखर, बिजुली लगायत ब्रान्डका चुरोट उत्पादन गर्छ ।

नबिल बैंक
नबिल बैंकको स्थापना २०४१ सालमा ‘नेपाल अरब बैंक लिमिटेड’ को नाममा भएको थियो । जुन नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । यसमा दुबई बैंक लिमिटेडको संयुक्त लगानी रहेको थियो । संयुक्त अरब इमिरेट्सका लगानीकर्ता बाहिरिएपछि बैंकको बहुमत स्वामित्व नेपाली लगानीकर्ता चौधरी समूहमा आयो । त्यसपछि बैंकको नाम परिवर्तन गरी ‘नबिल बैंक लिमिटेड’ राखियो । नबिल बैंकले ढड्डा हटाएर कम्प्युटरबाट सेवा दिने, क्रेडिट कार्ड, एटीएम र डेबिट कार्ड जस्ता नवीनतम उत्पादन र प्रविधिहरू नेपालमा भित्र्याउन नेतृत्व गर्यो । हाल यो बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
आईएमई लिमिटेड
सन् २००१ मा स्थापना भएको आईएमई लिमिटेड नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गर्ने मुलुककै पहिलो मनी ट्रान्स्फर कम्पनी हो । आईएमई रेमिटले २००२ मा मलेसियामा पहिलो वैदेशिक कार्यालय खोलेको थियो । त्यसपछि २००३ देखि २००४ मा बेलायत र अस्ट्रेलियामा कार्यालय स्थापना गरेको थियो । व्यापार बढाउँदै आईएमई रेमिट सन् २००७ देखि २००८ भित्र इन्डोनेसिया, बंगलादेश, श्रीलंका, फिलिपिन्स र भियतनाम प्रवेश गरेको हो । २०१० देखि २०१३ भित्र अमेरिका प्रवेश गरेको आईएमई रेमिटलाई नेपाल सरकारले मुलुककै सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी घोषणा गरेको थियो । हाल आईएमई सर्वसाधारणलाई सेयर निष्कासन गर्ने प्रक्रियामा छ ।
सोल्टी होटल
नेपालको अग्रणी होटल सोल्टी पर्यटन व्यवसायबाट उच्च आयकर तिर्ने निकायका रुपमा सम्मानित भएको छ । पाँचतारे होटल सोल्टी २०२३ सालमा उद्घाटन भएको हो । २८५ वटा कोठा रहेको यो होटेल अतिविशिष्ट पाहुनाको भ्रमणका बेला पहिलो रोजाईमा पर्ने गर्छ । क्यासिनो र रात्रि क्लबसहितको सुविधा रहेको होटेलले पछिल्लो समय लगानी विस्तारलाई समेत प्राथमिकता दिएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड नेपालको सबैभन्दा ठूलो पूँजीकृत बीमा कम्पनीमध्ये एक हो । एलआईसी नेपालको यात्राको सुरुवात सन् २००० मा भएको थियो। भारतीय जीवन बीमा निगम (एलआईसी) र विशाल समूहसँगको संयूक्त लगानीमा कम्पनी स्थापना भएको हो । कम्पनीमा ५५ प्रतिशत स्वामित्व भारतीय एलआईसी, १० प्रतिशत विशाल समूह र ३५ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । कम्पनीले राष्ट्रिय बीमा प्राधिकरणबाट सन् २००१ मा जीवन बीमा सेवा प्रदान गर्ने इजाजतपत्र लिएको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । तत्कालीन प्रिमियर इन्स्योरेन्स (वि.सं. २०५१) र सिद्धार्थ इन्स्योरेन्स (वि.सं. २०६२) एकआपसमा गाभिएर वि.सं.२०७९ फागुन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरी अस्तित्वमा आएको हो । काठमाडौंको बबरमहलमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी करिब २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ छ । कम्पनीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ । अध्यक्ष सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवार क्षेत्रीको नेतृत्वमा रहेको यस कम्पनीले देशभरका १२४ भन्दा बढी शाखा सञ्जाल तथा आधुनिक डिजिटल माध्यममार्फत ५ लाखभन्दा बढी ग्राहकहरूलाई निजीवन बीमा सेवा प्रदान गर्दे आएको छ । कम्पनीले सवारी साधन, सम्पत्ति, स्वास्थ्य, यात्रा, सामुद्रिक, इन्जिनियरिङ र कृषि लगायतका गुणस्तरीय निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड
स्वास्थ्य तथा शैक्षिक संस्थाबाट उच्च आयकर तिर्ने कम्पनीका रुपमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले यो कम्पनीलाई सम्मान गरेको हो । कांग्रेस नेता डा. सुनिल शर्माको यो संस्थाले ६ पटकसम्म यस्तो सम्मान पाइसकेको छ । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल २०७५ सालयता मात्र ६ पटक धेरै कर तिरेर सम्मानित भइसकेको छ ।
डाबर नेपाल प्रालि
डाबर नेपाल सन् १९८९ मा स्थापना भएको हो । डाबरले व्यवसायिक उत्पादन सन् १९९२ बाट सुरु गरेको हो । डाबरले रियल जुस, च्यवनप्रास, टुथपेस्ट, अमला हेयर आयल, हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, प्रोइस्टाइल, ओडोनिल उत्पादन गर्दै आएको छ । सन् १९८४ मा एसके वर्मनले स्थापना गरेको डाबर अहिले आयुर्वेदिक र प्राकृतिक स्वास्थ्यको क्षेत्रमा सबभन्दा ठूलो कम्पनीको रुपमा स्थापित छ । डाबरसँग संसारभर १९ भन्दा बढी विश्वस्तरीय उत्पादन केन्द्र छन् । नेपालसहित विश्वका ७ राष्ट्र युनाइटेड अरब इमिरेट्स, इजिप्ट, नाइजेरिया, टर्की, श्रीलंका, बंगलादेश र भारतमा १२ वटा गरी जम्मा १९ वटा उत्पादन केन्द्र छन् । डाबरका उत्पादन विश्वका १२० राष्ट्रमा, ६० लाख पसलमा उपलब्ध छन् ।
हिमालयन डिष्टिलरी लिमिटेड
समयमै र नियमित बढी मूल्य अभिवृद्धि कर (२०७७ साउनदेखि २०८३ असारसम्म) तिर्ने करदाताका रुपमा हिमालयन डिष्टिलरी लिमिटेड सम्मानित भएको छ । सन् १९८५ मा स्थापना भएको यो कम्पनीले नेपालमा ४० वर्ष भन्दा बढी समयदेखि व्यवसाय सञ्चालन गरिरहेको छ । यस कम्पनीले विभिन्न ८ भन्दा बढी ब्राण्डमा आफ्ना उत्पादन बजारमा ल्याउने गरेको छ ।
बरुण बेभरेज नेपाल प्रालि
विशेष उद्योगतर्फ बढी आयकर तिर्ने करदाताका रुपमा सरकारले बरुण वेभरेजलाई सम्मान गरेको छ । नेपाली बजारमा सफ्ट ड्रिङ्क उत्पादन तथा बिक्री गर्दै आएको यो कम्पनीका पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, सेभेन अपलगायत उत्पादन बजारमा उपलब्ध छन् । नेपालमा यो कम्पनीले २०५५ सालयता आफ्ना उत्पादन बजारमा ल्याएको हो । बहुराष्ट्रिय कम्पनीका रुपमा यस कम्पनीले विश्वका विभिन्न मुलुकमा बजार विस्तार गरेको छ ।
भोटेकोशी पावर कम्पनी प्रालि
कम्पनीले सिन्धुपाल्चोकमा ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत परियोजना सञ्चालन गर्दै आएको छ । यसले नेपाल विद्युत् प्राधिकरणको लामोसाँगु सबस्टेसनमा राष्ट्रिय ग्रिडसँग परियोजना जोड्ने २५ किलोमिटर लामो १३२ किलोभोल्ट प्रसारण लाइन पनि सञ्चालन गर्दै आएको छ । कम्पनीले आफ्नै उच्च दक्ष कर्मचारीको टोलीमार्फत अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परियोजना सञ्चालन तथा मर्मत गर्दै आएको छ । यसले परियोजनासँगै स्थानीय पूर्वाधार, शिक्षा र स्वास्थ्यको सहयोग, ग्रामीण पानी आपूर्ति, वातावरणीय संरक्षण, क्षमता निर्माण आदिमा योगदान पुर्याएर परियोजना वरपरका स्थानीय समुदायको विकास र सहयोगमा समेत काम गर्दै आएको छ ।
इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल
आईटी सेवा निर्यातबाट उच्च आयकर तिर्ने कम्पनीका रुपमा इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल सम्मानित भएको छ । यो कम्पनीले बैंक तथा वित्तीय संस्था, टेलिकम, सरकारी निकायहरूका लागि सफ्टवेयर विकास तथा सूचना प्रविधिसँग सम्बन्धित काम गर्दै आएको छ । बहुराष्ट्रिय कम्पनीका रुपमा यसका ब्रान्च विश्वभर विस्तार भएका छन् ।
ओसीबी फुड्स एन्ड फिड्स प्रालि
ओसीबी फुड्स एन्ड फिड्स प्रालि कृषि तथा पशुपन्छी उद्योगमा उच्च आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएको छ । यो रुंगटा ग्रुप अन्तर्गत सञ्चालित एक प्रमुख खाद्य तेल तथा दाना उद्योग हो । यो उद्योग वीरगञ्ज–बारा औद्योगिक करिडोरमा अवस्थित छ र यसको दैनिक उत्पादन क्षमता ५०० मेट्रिक टन छ । यसले विदेशबाट कच्चा पदार्थ आयात गरी आधुनिक ‘सल्भेन्ट एक्स्ट्र्याक्सन’ र रिफाइनरी प्रविधिमार्फत तेल प्रशोधन गर्दछ । कम्पनीले ‘दिव्य’ ब्रान्डमा सूर्यमुखी तेल, भटमासको तेल र पाम तेल उत्पादन तथा बिक्री गर्दछ ।
फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा लि
मदिरा तथा पेय पदार्थ उत्पादक समूह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतको अनुसन्धान, विकास तथा प्राविधिक सेवा प्रदान गर्ने सहायक कम्पनी हो । २०६७ सालमा स्थापना भएको यस कम्पनीले समूह अन्तर्गतका विभिन्न डिस्टिलरी तथा ब्रुअरीहरूका लागि नयाँ उत्पादन विकास, गुणस्तर नियन्त्रण र प्रविधिमा अनुसन्धान गर्छ । यसको कार्यालय ललितपुरको जावलाखेलमा छ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका छन् ।
सीजी इम्पेक्स प्रालि
वस्तु व्यापार कारोबारबाट उच्च आयकर तिर्ने करदाताका रुपमा सीजी इम्पेक्स प्रालि सम्मानित भएको छ । २०६१ मा स्थापना भएको सीजी इम्पेक्स सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको कम्पनी हो । जुन चौधरी ग्रुप मातहत रहेको छ । सीजी इलेक्ट्रोनिक्सले नेपालमा विद्युतीय सामग्रीको आयात –निर्यात गर्छ । सो काम गर्ने कम्पनी सीजी इम्पेक्स हो । यसले एलजी र सीजी ब्राण्डका विद्युतीय सामग्री, घरायसी उपकरणहरू आयात–निर्यात गर्छ ।
थर्ड आई इन्टरनेसनल
एकलौटी फर्ममध्ये उच्च आयकर तिर्ने करदातामध्ये थर्ड आई इन्टरनेसनल सम्मानित भएको छ । यो कम्पनीले नेपालबाट ऊनी गलैंचा निर्यात गर्दै आएको छ । यो कम्पनीले अघिल्लो वर्ष महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान समेत प्राप्त गरेको थियो । आव २०७९।८० र २०८०।८१ मा समेत तेस्रो मुलुकतर्फ सबैभन्दा बढी ऊनी गलैंचा निर्यात गरेबापत यो कम्पनीले सीआईपी सम्मान पाएको थियो । यो कम्पनीले हातले बुनेका ऊनी गलैंचा तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।
इम्पेरियल सेक्युरिटिज लिमिटेड
वार्षिक ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा इम्पेरियल सेक्युरिटिज कम्पनी परेको छ । यो कम्पनी सन् २०१० मा स्थापना भई स्टक ब्रोकिङ सेवा प्रदान गर्दै आएको छ । अनामनगरमा अवस्थित यस कम्पनी (ब्रोकर नम्बर ४५) मार्फत दैनिक सयौंले सेयर कारोबार गर्दै आएका छन् । धेरै रकमको धितोपत्र कारोबार गर्ने कम्पनीमा इम्पेरियल अगाडि रहँदै आएको छ । निक्षेप सदस्य (डीपी)का रूपमा पनि कम्पनीले सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय कम्पनीले मार्जिन लेन्डिङ सेवा पनि प्रदान गर्दै आएको छ । काठमाडौं जिल्लाबाहिर नेपालगन्ज, सुर्खेत, धादिङ, सूर्यविनायक तथा पोखरा शाखाबाट पनि कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।
छिमेक लघुवित्त विकास बैंक
२०४८ सालमा स्थापना भएको छिमेक समाज सेवा संस्थाको विशेष पहलमा विकास बैंक ऐन, २०५२ तथा कम्पनी ऐन, २०५३ बमोजिम २०५८ सालमा छिमेक विकास बैंकको स्थापना भएको हो । सामाजिक र आर्थिक रुपले पिछडिएको विपन्न एवम् गरिब वर्गका परिवारलाई आयमूलक व्यवसाय गरी आत्मनिर्भर बनाउनको लागि महिला सशक्तिकरण गरी गरिबी निवारण गर्ने उद्देश्यले स्थापना भएको हो । लघुवित्तले २०५१ साल देखी चितवन जिल्लाको माडी क्षेत्र र महोत्तरीको रामगोपालपुरमा सेवा सुरु गरेको हो । हाल छिमेक लघुवित्त वित्तीय संथाले ६९ वटा जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । लघुवित्तमा छिमेक समाज सेवा केन्द्रको सबैभन्दा धेरै १२ प्रतिशत सेयर स्वमित्व रहेको छ । त्यसैगरी नबिल बैंक, हिमालयन बैंक र ग्लोबल आईएमई बैंकको पनि सेयर लगानी रहेको छ । साथै लघुवित्तमा छिमेक बचत तथा ऋण सहकारीले पनि सेयर लगानी गरेको छ । त्यसबाहेक व्यक्तिगत लगानी रहेको छिमेक लघुवित्त वित्तीय संस्थामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणमा सेयर लगानी रहेको छ ।


















