कांग्रेस वरिष्ठ उपसभापतिका चार मुख्य जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विधानमा नयाँ पदका रूपमा व्यवस्था गरेको ‘वरिष्ठ उपसभापति’का लागि चारवटा मुख्य जिम्मेवारी निर्धारण गरेको छ । कांग्रेसको १५औँ महाधिवेशनबाट पारित विधानले वरिष्ठ उपसभापतिको काम, कर्तव्य र अधिकार स्पष्ट गर्दै पार्टी सञ्चालनदेखि नीति निर्माण र अनुसन्धानसम्मको जिम्मेवारी सुम्पिएको हो । विधानअनुसार वरिष्ठ उपसभापतिले पार्टी सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्नेछन् । त्यस्तै, पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा काम गर्ने, केन्द्रीय कार्यालयको संयोजन गर्ने तथा सभापतिले तोकेका अन्य काम, कर्तव्य र अधिकार प्रयोग गर्ने जिम्मेवारी पनि वरिष्ठ उपसभापतिलाई दिइएको छ । कांग्रेसको वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा हुन् । उनले सभापति गगनकुमार थापाको अनुपस्थितिमा कार्यवाहक सभापतिको भूमिका निर्वाह गर्नुपर्नेछ । पार्टीको नीति निर्माण, समसामयिक राजनीतिक तथा अन्य विषयमा अनुसन्धान र नेता–कार्यकर्ताको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण सञ्चालन गर्ने जिम्मेवारी पनि शर्माको काँधमा रहनेछ । वरिष्ठ उपसभापति पद कांग्रेसले १५औँ महाधिवेशनका क्रममा विधानमा नयाँ व्यवस्थाका रूपमा थपेको हो । यसअघि पार्टीमा उपसभापतिको व्यवस्था रहे पनि वरिष्ठ उपसभापति पद थिएन । विधानले वरिष्ठ उपसभापतिलाई औपचारिक पदको जिम्मेवारीमा मात्र सीमित गरेको छैन । पार्टीको नीति निर्माण, अनुसन्धान, प्रशिक्षण र केन्द्रीय कार्यालयको समन्वयजस्ता महत्त्वपूर्ण कामको जिम्मेवारीसमेत दिएको छ । यसले वरिष्ठ उपसभापतिलाई पार्टीको सांगठनिक तथा वैचारिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्ने जिम्मेवारी प्रदान गरेको देखिन्छ ।
सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापति
पार्टी सभापति अनुपस्थित रहेको अवस्थामा वरिष्ठ उपसभापतिले कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्नेछन् । सभापतिको अनुपस्थितिमा पार्टीको नेतृत्व र नियमित कामकारबाही प्रभावित हुन नदिन यो व्यवस्था गरिएको हो ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख
वरिष्ठ उपसभापतिले पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखका रूपमा काम गर्नेछन् । यसअन्तर्गत पार्टीको नीति निर्माणमा सहयोग पुर्याउने, विभिन्न राजनीतिक तथा समसामयिक विषयमा अध्ययन र अनुसन्धान गर्ने, नेता–कार्यकर्ताको क्षमता विकासका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी रहनेछ ।
केन्द्रीय कार्यालयको संयोजन
पार्टीको केन्द्रीय कार्यालयको संयोजन गर्ने जिम्मेवारी पनि वरिष्ठ उपसभापतिलाई दिइएको छ । केन्द्रीय कार्यालयमार्फत हुने नियमित सांगठनिक तथा प्रशासनिक कामकारबाहीलाई व्यवस्थित बनाउन र पार्टीका विभिन्न तहबीच समन्वय कायम गर्न उनले भूमिका निर्वाह गर्नुपर्नेछ ।
सभापतिले तोकेका अन्य जिम्मेवारी
विधानले वरिष्ठ उपसभापतिलाई सभापतिले तोकेका अन्य काम, कर्तव्य र अधिकारसमेत प्रदान गरेको छ । यस व्यवस्थाले पार्टीको आवश्यकता र परिस्थितिअनुसार सभापतिले वरिष्ठ उपसभापतिलाई थप जिम्मेवारी दिन सक्ने बाटो खुला गरेको छ ।


















