दानबहादुर कार्कीको रिटमा भोलि सुनुवाइ
काठमाडौं । नेपाल प्रहरी प्रमुख (आईजीपी)बाट हटाएका दानबहादुर कार्कीको रिटमा बुधबार (मंसिर २) सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सरकारले जिम्मेवारीमुक्त गरेपछि कात्तिक २० गते कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । बीचमा तिहार बिदा परेका कारण रिटमा सुनुवाइका निम्ति सुरुमा सोमबार (कात्तिक ३०)लाई पेसी तोकिएको थियो । तर, त्यस दिन छठ पर्वको बिदा थपियो । सोही कारण अर्को दिन (बुधबार(का निम्ति पेसी तय गरिएको कार्कीका कानुन व्यवसायीको भनाइ छ । गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई उक्त जिम्मेवारीमुक्त गरी एआईजी मनोज केसीलाई प्रहरी प्रमुख बनाइएको छ । कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने सरकारको निर्णय छ । त्यसपछि कार्की आफूलाई कुनै सूचना र सुनुवाइको मौका नदिई हटाइएको जिकिरसहित सर्वोच्च पुगेका हुन् । केसीलाई प्रहरी प्रमुखमा नियुक्त, दर्ज्यानी चिह्न प्रदान गर्नेलगायत निर्णय रिटमा रोक्न माग गरिएको छ । आफूलाई जिम्मेवारीमुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यताबारे आरोप समेत उल्लेख नगरिएको कार्कीको रिटमा जनाइएको छ ।


















