सिप्रदीले एक वर्षमा कमायो २२ अर्ब ९० करोड, कमर्सियल भेइकलमा ६६ प्रतिशत बजार हिस्सा

काठमाडौं । नेपालमा टाटा ब्रान्डका सवारीसाधनको बिक्री गरेर सिप्रदी ट्रेडिङ प्रालिले एक वर्षमा झण्डै २३ अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ मा २२ अर्ब ९० करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो। चार दशकभन्दा लामो व्यावसायिक अनुभव, ग्राहकको विश्वास र देशव्यापी वितरण सञ्जालका आधारमा नेपाली अटोमोबाइल बजारमा आफ्नो बलियो उपस्थिति कायम राख्दै आएको सिप्रदीले चुनौतीपूर्ण बजार परिस्थितिका बाबजुद पनि ठूलो व्यावसायिक आकार र वित्तीय सबलता प्रदर्शन गरेको छ। गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले नेपाली अटो बजारलाई नराम्रो धक्का दिएको थियो । राजनीति उतार चढाबका बीच पनि कम्पनीले गरेको व्यापार सन्तोषजनक नै देखिएको हो । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा ४।८९ प्रतिशत अर्थात् १ अर्ब १७ करोड ९० लाख रुपैयाँले कम भएको छ। उक्त आर्थिक वर्षमा कम्पनीले २४ अर्ब ८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। यद्यपि, पछिल्ला वर्षहरूको कारोबार हेर्दा सिप्रदी नेपाली अटोमोबाइल बजारको एक प्रमुख व्यावसायिक संस्थाका रूपमा स्थापित देखिन्छ। कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा १८ अर्ब ५८ करोड ८० लाख, २०७९।८० मा १८ अर्ब ३० करोड ४० लाख, २०७८।७९ मा २८ अर्ब ९५ करोड ५० लाख, २०७७।७८ मा २५ अर्ब ४१ करोड ९० लाख, २०७६।७७ मा १९ अर्ब ७० करोड ५० लाख र २०७५।७६ मा ३१ अर्ब ३ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। सन् १९७९ मा स्थापना भएको सिप्रदी ट्रेडिङ नेपालमा टाटा ब्रान्डका सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। कम्पनीले सन् १९८२ देखि टाटाका व्यावसायिक सवारीसाधन र सन् १९९२ देखि निजी प्रयोजनका सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ। नेपाली बजारमा टाटाका गाडीलाई स्थापित गर्न र ग्राहकको विश्वास जित्न कम्पनीले चार दशकभन्दा लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। टाटाका व्यावसायिक सवारीसाधनदेखि निजी प्रयोजनका विद्युतीय तथा इन्धनबाट चल्ने गाडीसम्मको बिक्री र सेवामा कम्पनी सक्रिय छ।

सिप्रदीमार्फत नेपाली ग्राहकले टाटाका विभिन्न श्रेणीका सवारीसाधन खरिद गर्न पाउँदै आएका छन्। व्यावसायिक प्रयोजनका लागि टाटा एस, इन्ट्रा, योद्धा, टिपर, ट्रक तथा बसजस्ता सवारीसाधन उपलब्ध छन्। निजी सवारीसाधनतर्फ टियागो ईभी, टिगोर ईभी, पन्च ईभी, नेक्सन ईभी, कर्भ ईभी, पन्च, नेक्सन तथा अन्य उपलब्ध मोडलमार्फत कम्पनीले बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। यी सवारीसाधनले व्यक्तिगत आवागमनदेखि सार्वजनिक यातायात, ढुवानी, निर्माण तथा व्यावसायिक प्रयोजनसम्मका आवश्यकता सम्बोधन गर्दै आएका छन्। विशेषगरी विद्युतीय सवारीसाधनका नयाँ मोडलले नेपाली बजारमा टाटा ब्रान्डको पहिचान र पहुँच थप फराकिलो बनाउन सहयोग पुर्‍याएका छन्। टाटा ब्रान्डप्रतिको ग्राहकको विश्वास, सवारीसाधनको विविधता, बिक्रीपछिको सेवा तथा देशव्यापी सञ्जाल सिप्रदीको व्यावसायिक शक्तिका रूपमा रहेका छन्। कम्पनीले सवारीसाधन बिक्रीमा मात्र आफूलाई सीमित नराखी वर्कसप सेवा, स्पेयर पार्ट्स, ब्याट्री, लुब्रिकेन्ट्स तथा जेनेरेटरलगायतका व्यवसायसमेत सञ्चालन गर्दै आएको छ। सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि म्याक लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरकका रूपमा काम गर्दै आएको कम्पनीले अटोमोबाइलसँग सम्बन्धित विभिन्न क्षेत्रमा आफ्नो व्यावसायिक दायरा विस्तार गरेको छ। काठमाडौंमा दर्ता कार्यालय रहेको सिप्रदीले देशभर १० वटा आफ्नै सोरुम र १४ वटा डिलर सञ्जालमार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ।

बिक्री तथा वितरणसँगै ग्राहकलाई आवश्यक सेवा र सुविधा उपलब्ध गराउन कम्पनीले देशव्यापी पहुँच विस्तार गरेको छ। सिप्रदी समूहअन्तर्गत सवारीसाधनको बिक्री तथा वितरण र त्यससँग सम्बन्धित विभिन्न व्यवसाय सञ्चालनमा छन्। समूहले सिप्रदी हायर पर्चेज प्रालिमार्फत सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई वित्तीय सुविधा पनि उपलब्ध गराउँदै आएको छ। यसले ग्राहकलाई सवारीसाधन खरिद प्रक्रिया सहज बनाउन तथा कम्पनीको व्यावसायिक गतिविधिलाई थप व्यवस्थित गर्न सहयोग पुर्‍याएको छ। सिप्रदीको अर्को महत्वपूर्ण पक्ष यसको बजार हिस्सा हो। कम्पनीले नेपालको व्यावसायिक सवारीसाधन बजारमा आफ्नो अग्रणी स्थान कायम राखेको छ। गत आर्थिक वर्षमा व्यावसायिक सवारीसाधनको बजारमा सिप्रदीको हिस्सा करिब ६६ प्रतिशत रहेको थियो। उक्त अवधिमा व्यावसायिक सवारीसाधनको बजार करिब ६ प्रतिशतले विस्तार भएको थियो। ढुवानी, निर्माण, यातायात तथा अन्य व्यावसायिक गतिविधिमा सवारीसाधनको माग कायम रहनुले यस क्षेत्रमा कम्पनीको उपस्थितिलाई बलियो बनाएको देखिन्छ। कम्पनीको वित्तीय अवस्थासमेत सुधारोन्मुख देखिएको छ। सन् २०२६ जुलाई मध्यसम्मको तथ्याङ्कअनुसार कम्पनीको ऋण तथा स्वपुँजी अनुपात करिब ०.३ गुणा र कुल दायित्व तथा खुद सम्पत्तिको अनुपात करिब ०।६ गुणा रहेको छ। त्यस्तै, कम्पनीको सञ्चालन नाफा मार्जिनमा उल्लेखनीय सुधार आएको छ। आर्थिक वर्ष २०२५ मा करिब २।७ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२६ मा बढेर करिब ४.४ प्रतिशत पुगेको छ। सञ्चालन नाफा मार्जिनमा भएको सुधारले कम्पनीको खर्च व्यवस्थापन र सञ्चालन क्षमतामा सकारात्मक प्रभाव परेको देखिन्छ। कुल ऋण र ब्याज, कर, मूल्यह्रास तथा परिशोधन खर्चअघिको सञ्चालन आम्दानीबीचको अनुपात आर्थिक वर्ष २०२५ मा ६.७ गुणा रहेकोमा आर्थिक वर्ष २०२६ मा घटेर करिब ३ गुणामा झरेको छ। कम्पनीको ऋण भुक्तानी क्षमता अनुपातमा पनि सुधार आएको छ। आर्थिक वर्ष २०२५ मा २.८ गुणा रहेको उक्त अनुपात आर्थिक वर्ष २०२६ मा बढेर करिब ४ गुणा पुगेको छ। चार दशकभन्दा लामो व्यावसायिक यात्रामा सिप्रदीले टाटा मोटर्ससँगको सम्बन्धलाई निरन्तरता दिँदै नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ। सिप्रदी ट्रेडिङमा सिद्धार्थशमशेर जबराको मुख्य सेयर स्वामित्व रहेको छ। उनी सिप्रदी समूहका अध्यक्षसमेत हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ रहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *