नेपाल बैंकले मोबाइल एपबाटै २ लाख रुपैयाँसम्मको कर्जा दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ९०औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ एपमार्फत दुई लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने नयाँ सेवा सुरु गरेको छ । बैंकले ‘एनबीएल बैंकस्मार्ट एक्सपी’ एपमार्फत ‘एनबीएल फोनलोन’ नामक डिजिटल कर्जा सेवा सञ्चालनमा ल्याएको हो । फोनलोन प्रालिद्वारा सञ्चालित यस सेवामार्फत बैंकका योग्य ग्राहकले बिना धितो, कागजी प्रक्रिया र बैंक शाखा नगई मोबाइल एपबाटै दुई लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध हुने यो सेवाले ग्राहकलाई छिटो, सरल र सहज रूपमा औपचारिक कर्जामा पहुँच पुर्‍याउने बैंकको विश्वास छ । कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय हुनेछ । यसमा ग्राहकको खातामा नियमित रूपमा तलब जम्मा हुने अवस्था, हाल कायम कर्जा दायित्व र विगतको कर्जा भुक्तानी व्यवहारलाई आधार बनाइनेछ । ग्राहकले कर्जा लिँदा एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, तोकिएको अवधिअगावै कर्जा चुक्ता गर्न चाहेमा पूर्वभुक्तानीको सुविधा पनि उपलब्ध हुनेछ ।

बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकले आवश्यक योग्यता तथा दर्ता प्रक्रिया पूरा गरी एनबीएल बैंकस्मार्ट एक्सपी एपमार्फत यो सेवा उपयोग गर्न सक्नेछन् । योग्य ग्राहकले एपबाटै कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकको ९०औं वार्षिकोत्सव समारोहका अवसरमा उक्त सेवाको शुभारम्भ गरिएको हो । सेवाका सम्बन्धमा नेपाल बैंक लिमिटेडका खुद्रा कर्जा विभागका प्रमुख प्रबन्धक अर्जुनबहादुर कँडेलले ग्राहकलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान उपलब्ध गराउनु बैंकको उद्देश्य रहेको बताए । उनले प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु र ग्राहकलाई सरल तथा सुविधाजनक बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिकता रहेको उल्लेख गरे । बैंकको ९०औं वार्षिकोत्सवका अवसरमा नवीन प्रविधि अवलम्बन गर्दै डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उनको भनाइ छ । एनबीएल फोनलोन सेवाको सुरुवातले बैंकको डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्नुका साथै ग्राहक सुविधामा वृद्धि गर्ने र डिजिटल माध्यमबाट औपचारिक कर्जामा पहुँच बढाउने अपेक्षा गरिएको छ । यसले प्रविधिमैत्री तथा ग्राहककेन्द्रित बैंकिङ सेवा विस्तारमा समेत सहयोग पुग्ने बैंकको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *