नेपाल बैंकर्स संघको आयोजना ‘एनबीए अन्तर-बैंक फुटसल कप २०२६’ हुने

काठमाडौं। नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रका कर्मचारीबीच आपसी सम्बन्ध, सहकार्य र सौहार्दपूर्ण वातावरण अभिवृद्धि गर्ने उद्देश्यले शनिबार र आइतबार धन्वन्तरी फुटसल मैदानमा पहिलोपटक ‘एनबीए अन्तर-बैंक फुटसल कप २०२६’ आयोजना गर्ने भएको छ। प्रतियोगितामा २० वटै वाणिज्य बैंकहरूको सहभागिता हुनेछ। प्रतियोगिता पुरुष तथा महिला गरी दुई विधामा सञ्चालन हुनेछ। बैंकिङ क्षेत्रका कर्मचारीहरूलाई व्यवसायिक कार्यक्षेत्रभन्दा बाहिर एकै ठाउँमा भेला गराई आपसी मित्रता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। यसले कर्मचारीहरूबीच टिमवर्क, स्वस्थ प्रतिस्पर्धा, मनोरञ्जन तथा शारीरिक र मानसिक स्वास्थ्य र संस्थागत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै खेलकुदप्रतिको रुचि र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने संघले विश्वास लिएको छ।

प्रतियोगिताको तयारी स्वरूप संघले प्रि(टुर्नामेन्ट ब्रिफिङ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रतियोगिताको ट्रफी तथा खेल तालिका सार्वजनिक गरिएको थियो। साथै, सहभागी बैंकका टिम व्यवस्थापकहरूलाई प्रतियोगितासम्बन्धी नियम, खेल सञ्चालन प्रक्रिया तथा आवश्यक व्यवस्थापकीय पक्षहरूबारे जानकारी गराइएको थियो। कार्यक्रममा एन्फाका रेफ्रीले खेलका नियम तथा प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराउँदै सबै सहभागी टोलीलाई अनुशासित, मर्यादित र खेलभावनाका साथ प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेका थिए। संघले बैंकिङ क्षेत्रको नीतिगत तथा संस्थागत विकासका साथै सदस्य बैंकहरूबीच सहकार्य र सम्बन्ध विस्तारका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *