देश बनाउने कि बचाउने
बालेन्द्र साह नेतृत्वको सरकार गठन भएको नौ महिना बितिसकेको छ । यो समयमा सरकारको कुनै पनि काम जनताका लागी आशावादी गराउन र भरोसा दिलाउन सक्ने खालका छैनन् । सरकार टिकाउन र आफ्नो सरकारको अस्तित्व साबित गर्न डरलाग्दो राज्य आतङ्कको सिर्जना गरियो । सबभन्दा पहिले प्रेसलाई आतङ्कित गराउने काम भयो । प्रेसको गला घोटेपछि विरोधको स्वर दब्छ भन्ने मान्यता राख्ने वर्तमान सरकार स्वयम सामाजिक सञ्जालको अल्गोरिदमबाट शक्तिमा पुगेको थियो । उसले सत्यको मुख थुन्ने उद्देश्यका साथ पहिले विरोधको स्वर दबाउन जरुरी ठान्यो । र, मिडियामाथि अन्धाधुन्ध आक्रमण गर्यो । प्रेस स्वतन्त्रता जीवित राखेर आफ्नो स्वार्थ पुरा हुने सम्भावना नदेखेपछि नै त्यो कदम चालिएको थियो । उसले पत्रपत्रिकाले राज्यबाट पाउँदै आएको सुविधा खोस्यो , सूचनाको हक माथि बन्देज लगायो । पत्रकारलाई तर्साउन थुन्ने, पत्रिकामाथि छापा मार्ने, प्रेस सामग्री जफत गर्ने जस्ता घिनलाग्दा कामलाई प्राथमिकता दिन थाल्यो । बिना कारण पत्रकारलाई गिरफ्तार गर्ने, मुद्दा लगाउने,थुन्ने कामलाई आफ्नो अस्तित्वसँग जोडेर हेर्न थाल्यो । कुनै पत्रिकामा सरकारको स्वार्थसँग बाझिएका समाचार आउनै हुँदैन, पत्रकारलाई बिना पुर्जी जहाँ भेट्यो त्यहीँबाट उठाइ हालिन्छ । सरकारको अस्तित्व देखाउन पनि प्रेसमाथिको दमनलाई चर्काउन कुनै कसर बाँकी राखेन । प्रेसमाथिको दमनको अर्थ नागरिक स्वतन्त्रलाई सङ्कुचित गराउनु हो ।
लोकतन्त्र र मानवअधिकारलाई बचाउन अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुनु जरुरी हुन्छ । तर आजको पोष्ट मोर्डन युगमा पनि निरङ्कुश शासनको मोह हुनु, विपक्षीलाई सम्पूर्ण रूपले समाप्त पार्ने योजना बनाउनु वर्तमान सत्तारुढ दल र सरकारको पहिलो एजेन्डा बनेको छ । शक्तिको रूपमा विपक्षी पनि कम छैन तर त्रसित मानसिकतामा रहेका कारण राज्य आतङ्कको डटेर प्रतिकार गर्न सकेको छैन । विपक्षी विहीन राज्यको कल्पनामा रहेको बालेन्द्र साह सरकारको कोप भाजनमा प्रेस,मिडियाकर्मी र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरपछि उद्योगी, व्यापारी र व्यवसायी रहेका छन् । त्यसले मुलुकको अर्थतन्त्रलाई ध्वस्त पारेको छ । विदेशी ऋणको मात्रा यति बढेको छ कि दिन दुई गुना रात चौ गुनाको दरले बढिरहेको छ । सङ्घसंस्थामाथि अघोषित प्रतिबन्ध लगाएर लोकतन्त्रको मर्ममाथि नै आक्रमण गर्ने काम गरिरहेको छ । कर्मचारीतन्त्र माथि प्रभाव जमाउने नाममा जथाभाबी निकाल्ने, तर्साउने र जागिर छाड्न बाध्य पार्ने काम भएको छ । शिक्षा, स्वास्थ्य,रोजगारी, शान्ति सुरक्षा आदि सबै क्षेत्र चौपट भएको छ । नागरिकमा सुरक्षाको प्रत्याभूति नभएपछि नेपालीहरूको विदेश पलायनको दर डरलाग्दो रूपले उच्च देखिन गएको छ ।
सुशासन,पारदर्शिता,भ्रष्टाचार नियन्त्रण जस्ता गुलिया र आकर्षक नाराभित्र नेपालको अस्तित्वमाथि नै खेलबाड भइरहँदा पनि जनस्तरमा विरोध, प्रतिरोध र प्रतिकारको स्थिति किन कमजोर किन बन्दै गएको छ ,किन जागरूक युवा, समाजको चेतनशील तप्का निरीह र कमजोर भइरहेको छ ? राजनीतिलाई विकृत गराउन भ्रष्टाचारमा राज्यका अंगप्रत्यागंको प्रभावले निकम्मा बनाउँदा पनि विपक्षी दलको भूमिका किन शून्य प्रायः देखिन्छ , के यसरी नेपालको अस्तित्व बच्न सक्छ, जनताले कसलाई विश्वास गर्ने ? यो स्थितिबाट पार लगाउन पुराना भनिएका र त्याग तपस्याको इतिहास भएका दलहरूको भूमिका झन् कमजोर बन्दै गएको छ । यस्तै अवस्था रहेर वर्तमान सरकारले गरेका गैर संवैधानिक र कानुन विपरीतका गतिविधिलाई नियन्त्रण गर्न नसकिए वर्तमान व्यवस्था, संविधान र लोकतन्त्र पूर्णपुरले समाप्त हुनेछ । दलहरू आपसी द्वन्द्व,पदीय स्वार्थ र संस्था कब्जा गर्ने कु नियतमा लागेर आफै समाप्त हुने बाटो रोज्दैन । अहिले दल दलबिचको झगडा, दलहरूको आन्तरिक द्वन्द्व र सत्ताको अनुचित लालचले मुलुकको अस्तित्व नै गुम्ने खतरा बन्दै छ भने विकासको कुरा, देश बनाउने कुरा त कल्पनाको विषय बाहेक केही होइन । जिम्मेवार भनिएका पुराना दल अब निद्राबाट बिउँझन ढिला हुँदै गएको छ । यदि समयमै उचित कदम उठाइएन भने पछि पश्चाताप गरेर केही हुँदैन ।
















