दुवै सरकारले मुख खोल्नु पर्यो

काठमाडौ । राज्य संयन्त्रकै कारण अहिले मुलुक अभूतपूर्व सङ्कटमा फस्न पुगेको छ । राज्यका तीन वटै अङ्गप्रति जनतामा लगातार अनास्था बढ्दै गएको छ । खास गरेर मन्त्रिपरिषद्का कारण नेपाल अस्तित्व कै सङ्कट झेलिरहेको छ । विदेशीको इशारामा चल्ने अनि देशभक्त शक्तिमाथि चौतर्फी आक्रमण गर्ने वर्तमान सरकार र सत्तारुढ दलको दैनिकी बनेको छ । सामाजिक सञ्जालको गलत प्रयोगबाटै मुलुक सिद्धाउने खेलमा लागेको बालेन्द्र एन्ड कम्पनीले फेक आइडीबाट अनुचित सामग्री उत्पादन र प्रसारणका लागी हजारौँलाई देशै भरी खटाएको छ । राम्रो पारिश्रमिक दिएर त्यसरी परिचालन गरिएकाहरूले गलत सूचना दिने, भद्दा गालीगलौज गर्ने, आफूसँग असहमत हुनेहरूको चरित्र हत्या गर्ने जस्ता धन्धा गर्दछन् । आफ्नो सरकार बनेकै दिनदेखि विपक्षी दल, कर्मचारीतन्त्र, संवैधानिक निकाय, न्यायालय आदि माथि अन्धाधुन्ध आक्रमण शुरु गरेको बालेन्द्र सरकारको सञ्चालक को हो भन्ने नै यकिन हुन सकेको छैन । प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयबाट हुने सबै काम कथित सल्लाहकार र तिनको मुकामबाट हुने गरेको छ । सल्लाहकारले गर्ने कुनै पनि काम संविधान र कानुन मुताबिक हुँदैन । र, त्यसको जबाफदेही कसले लिने भन्ने पनि प्रस्ट हुँदैन । कुनै पनि गलत काम गर्नु अघि त्यसको प्रतिक्रिया बुझ्न मिडियाबाजी गराउने, माहौल तयार पार्ने अनि हस्तक्षेप गरी काम तमाम गर्ने गरिन्छ । प्रहरी प्रमुखलाई हटाउन यही तरिका अपनाइयो, उद्योगी व्यापारीको गिरफ्तारीमा पनि त्यस्तै तरिका प्रयोग गरियो । राजनीतिक दलका नेता कार्यकर्तालाई समाउँदा पनि त्यही प्रक्रिया अपनायो । अहिले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणका क्रममा गरिएका सहमति, सन्धि सम्झौताको सन्दर्भमा पनि त्यस्तै प्रक्रिया अपनाएको देखिन्छ । खास गरेर चिकननेक क्षेत्रको एक सय पचास किमि क्षेत्रफलको नेपाली भूमी भारतलाई दिएको कुरा अकारण र काल्पनिक कथा बनाएर प्रचार गरिएको भनेर त्यतिकै मौन बस्ने स्थिति देखिँदैन । त्यसबारेमा दुई प्रमबिच वान टु वान वार्ताका क्रममा कुनै न कुनै ढङ्गले कुरा उठेकै हुनुपर्छ । भारतीय मिडिया, त्यसमा पनि प्रधानमन्त्री नरेन्द्र मोदीका बिश्वनीय रहेकाहरूले यसलाई सत्य घटनाकै रूपमा कुरा उठाउनुलाई यात बालेन्द्र साहको लज्जास्पद चरित्र, व्यवहार र क्रियाकलापले त्यसलाई ठाउँ बनाइदिएको हो, या भारतीय पक्षले नेपाल सरकार र नेपालीको मनोविज्ञान बुझ्न त्यो अस्त्र प्रयोग गरेको हो । भारतीय मिडियाले चिकननेक क्षेत्रका जमिन किनेको, लिजमा लिएको, सट्टापट्टा गरेको जस्ता अनेक कुरा बाहिर ल्याएको छ । सत्य तथ्य के हो ? न त नेपाली जनतालाई थाहा छ, न भारतीयलाई थाहा छ न त विश्व समुदाय नै यसबारेमा जानकारी छ । यदि, यो कुरा काल्पनिक नै हो भने पनि भारत सरकारको इच्छा बेगर यो कुरा प्रचारमा आएको भनेर मान्न किमार्थ पनि सकिदैंन । वास्तविकता के हो भन्ने कुरा नेपाल र भारतका दुवै सरकारले मुख खोल्नु पर्ने बेला भएको छ ।
अहिले यस मामिलामा दुवै सरकार मौन रहेर स्थितिलाई पाक्न दिन खोज्दै छन् । यदि उल्लेखित कुनै पनि कुरा उठेका छन्, भएका छन् भने नेपाली जनताले त्यसलाई सहज रूपमा स्वीकार गर्छन् कि गर्दैनन्, राजनीतिक दल, संसद्, मन्त्रिपरिषद्ले त्यसो गर्ने अनुमति दिन्छ कि दिँदैन ? एउटा प्रधानमन्त्रीले व्यक्तिगत निर्णयको आधारमा त्यति ठुलो निर्णय गर्न सक्छ कि सक्दैन, देशै बेच्ने अधिकार प्रधानमन्त्रीसँग हुन्छ कि हुँदैन भन्ने प्रश्न अब गम्भीर रूपमा उठ्ने छ । हावा नचली पात हल्लिदैंन भने झैँ यो मुद्दा एकाध सञ्चारमाध्यमको परिकल्पनाकै मात्र उपज हो भनेर सहज रूपले स्वीकार गर्नु मूर्खता ठहरिन सक्छ । काल्पनिक कहानी नै बनाएको भए पनि भारत सरकारको योजना, चाहना र इच्छा मुताबिक नै भएको हुनुपर्छ । नेपालीको प्रतिक्रिया बुझ्न र त्यही प्रतिक्रियालाई हेरेर आगामी कदम उठाउन योजनाबद्ध रूपमा चालिएको चाल हुनसक्छ । त्यसो होइन भने दुवै देशका सरकारहरू किन चुप्पी साँधेर बसेका छन् । नेपाललाई दिने भनिएको ऋण अनुदानको धेरै प्रचार गरियो । यस अघिका सरकारसँग भारतद्वारा गरिएका कुनै पनि बाचा पुरा गरिएनन् ।
महाकाली सम्धीको बेला गरिएको बाचा अझै अधुरै छ । आश्वासन दिन र अलमल्याउन माहिर भारतले त्यसलाई कार्यान्वयन गर्दा चाहिँ आफ्नो फाइदा घाटाको जोडघटाउँ गरेर मात्र गर्ने गरेको छ । जनकपुर अयोध्या रेल सेवा, दिल्ली काठमाण्डौं बस सेवा जस्ता दर्जनौँ कार्यक्रम यस अघि नै उद्घाटन भइसकेका छन् । अहिले लाजै नमानी तिनै योजनाको पुनः उद्घाटन भएको छ । त्यो सेवा पनि एकाध महिना फाट् फुट्ट चलेर बन्द हुनेमा शङ्का छैन । भारतलाई फाइदा हुने योजना भने अघि बढ्न पनि सक्छन् । जस्तो नेपाललाई कुनै लाभ नहुने तर भारतलाई भरपुर लाभ मिल्ने योजना पूरा गर्न भारत विगतमा पनि दिलो ज्यानले लाग्ने गरेको छ । हवाई रुटको मामिला पनि अरू जस्तै हो । भारतले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो गुप्त काम फत्ते गर्न सकिने देख्यो भने त्यो घिसेपिटे रूपमै भए पनि चल्छ नत्र केही समयपछि रुटका कारण होइन अरू नै कारण देखाएर ती विमानस्थलको सेवामा पूर्णविराम लाग्नेछ । कालापानीको इस्यु, सीमा विवादको समस्या अझ पेचिलो बन्दै छ । यस सम्बन्धमा नेपाल सरकार, प्रधानमन्त्री, प्रतिनिधिमण्डल चुप बस्छ ।
जुन विषय नउठाए पनि समस्या हुँदैन, त्यो प्राथमिकताका साथ उठाइन्छ । सयौँ जल्दा बल्दा समस्यालाई छाडेर रेल रुटको कुरामा सम्पूर्ण ध्यान लगाउनुले पनि का प्रतिनिधिमण्डल भारतको खेलौना जस्तो अवस्थामा रहेको प्रस्ट देखिन्छ । आफ्नो समस्या अरूलाई सुम्पिएर पन्छिने प्रवृत्ति वर्तमान सरकारसँग पर्याप्त देखिन्छ । भोटेकोशी बाढीपीडितलाई प्रारम्भिक रूपले राहत उपलब्ध गराउन पुग्ने बजेट जुटेको थियो । तर, मन्त्री, सत्तारुढ दलका संसद् र कार्यकर्तालाई दुरुपयोग गरेरै त्यसलाई सिद्धाए । कुनै काम नगरी हेलिकप्टर उडाउन मात्र १५ अर्ब खर्च गरेको विवरण बाहिर आयो । अहिले त्यसको पुनः निर्माण गरिदिने भनेर भारतले फेरि ठग्न लागेको छ । यदि भारतको हातमा त्यो पुनः निर्माण योजना पुग्यो भने जनताले सामान्य राहत पनि पाउँदैनन् तर भारतले हिमालय क्षेत्रमा पहुँच बनाउने छ । भारतले के देला र खाउँला भन्न छाडेर सरकारले आफ्नै बलबुतामा केही गर्ने कार्यक्रम बनाएर अघि बढ्ने हो भने विगतबाट सिक्नुपर्छ । विगतका सरकार प्रमुखको भारत यात्रा पनि यही प्रकृतिका हुन्थे ।

















