सार्वजनिक खरिदका श्रमिकको ज्याला र सामाजिक सुरक्षा योगदान पुनरावलोकन गर्न महासंघको आग्रह

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा योगदानसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेको छ। महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको ज्याला र सामाजिक सुरक्षा योगदानसम्बन्धी नयाँ व्यवस्थाले निजी क्षेत्र र निर्माण व्यवसायीलाई थप आर्थिक भार पर्ने बताएका हुन्। नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाउनुपर्ने बताए। उनले सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा राखे। सरकारले हालै जारी गरेको सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ का केही व्यवस्था सकारात्मक भए पनि त्यसले निजी क्षेत्रलाई चुनौती थपेको उनको भनाइ छ।

पाण्डेका अनुसार निजी क्षेत्रको न्यूनतम मासिक ज्याला १९ हजार ५५० रूपैयाँ अर्थात् दैनिक ७५४ रूपैयाँ छ। तर, सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रूपैयाँ निर्धारण गरिएको छ। एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ, उनले भने। पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत सामाजिक सुरक्षा योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई आर्थिक भार पर्ने उनले बताए। यस्तो व्यवस्था लागू गर्नुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श आवश्यक रहेको उनको भनाइ छ। पाण्डेले सामाजिक सुरक्षा कोषमा अर्बौं रूपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै उक्त रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिए । कोषमा जम्मा भएको रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत, उद्योग तथा रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *