नागढुंगा सुरूङमार्गमा यात्रा गर्न आवश्यक एनट्याग कार्ड सिद्धार्थ बैंकबाट लिन मिल्ने
काठमाडौं । नागढुंगा सुरूङमार्गमा यात्रा गर्न आवश्यक एनट्याग कार्ड सिद्धार्थ बैंकबाट लिन मिल्ने भएको छ । सिद्धार्थ बैंकले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भएर आवतजावत गर्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको हो । सुरुङमार्गको टोल बुथमा नगद तिर्न सवारी साधन रोकेर लामो लाइन बस्नुपर्ने झन्झट अन्त्य गर्दै यात्रालाई छरितो, सहज र पूर्णतः नगदरहित बनाउने उद्देश्यले बैंकले यो अत्याधुनिक विद्युतीय टोल भुक्तानी सेवा सुरु गरेको हो ।
रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) प्रविधिमा आधारित एन–ट्याग एक विद्युतीय स्टिकर हो, जसलाई सवारी साधनको अगाडिको सिसामा टाँसिन्छ । टोल प्लाजामा राखिएका स्वचालित यन्त्रले उक्त स्टिकरलाई पहिचान गर्ने भएकाले सवारी साधन नरोकीकनै तोकिएको एन–ट्याग लेनबाट सिधै गुड्दा टोल शुल्क स्वतः कट्टी हुन्छ । यो सेवा लिन चाहने सवारी धनीहरूले घरमै बसेर अनलाइन आवेदन दिई नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन–ट्याग सङ्कलन तथा सक्रिय गर्न सक्नेछन् ।

















