नवकान्तिपुर साकोसको अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाण्डौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को प्राविधिक सहयोगमा एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। संस्थागत सुशासन अभिवृद्धि एवं नियामकिय मापदण्डको प्रभावकारी परिपालना गराउने उद्देश्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो। संस्थाका अध्यक्ष सविना ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अतिथी ढकालले सहकारी अभियानको सान्दर्भिकता कायम राख्न संस्थाको जिम्मेवारीमा रहेका व्यक्तिहरुले ‘सदस्य केन्द्रीयता’ र ‘सदस्य हित’ लाई केन्द्रमा राखी आवश्यक नीति निर्माण र कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा नेफ्स्कुनका प्रशिक्षक सन्दिपराज ढकालले सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा ऋण, शिक्षा र अन्य विभिन्न उपसमितिहरुले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै, उहाँले नियामकिय मापदण्डको परिपालनामा संस्थाले अपनाउनुपर्ने प्रक्रिया र पद्धतीका बारेमा समेत स्पष्ट पार्नुभयो। प्रशिक्षणका क्रममा सहभागीहरुले प्रचलित सहकारी कानूनमा भएका प्रावधानहरु र सो को व्यवहारिक कार्यान्वयनमा आइपर्ने चुनौती तथा समाधानका विषयमा जिज्ञासा राख्नुभएको थियो। कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सदस्य कल्याणकारी उपसमिति एवं व्यवस्थापकको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समापन गर्दै संस्थाकी अध्यक्ष सविना ढकालले प्रशिक्षणबाट प्राप्त ज्ञानले संस्थाको कार्यसम्पादनलाई अझ पारदर्शी, व्यवस्थित र सदस्यमैत्री बनाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

















