इनमको जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

काठमाण्डौं । हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी परेको छ। शुक्रबार इनम सापकोटाको तर्फबाट उनकी श्रीमती कविता पाण्डे उजुरी दिएकी हुन्। आज उजुरी परेको हो। उजुरी दर्ता भइसकेको छ। अब हामी अनुसन्धान गर्न जान्छौं, स्रोतले भन्यो,हिरासतमा रहेकाहरूको पनि मानव अधिकार हुन्छ। त्यसैले आधारभूत मानव अधिकार परिपूर्ति भएको छ कि छैन भनेर अनुसन्धान गर्नेछौं। निवेदकका अनुसार प्रहरीले गैरकानुनी रूपमा नियन्त्रणमा लिएर झूटा मुद्दामा फसाएको हो। निवेदकले आफूलाई २०८३ असोज १४ गते बिहान नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचमा पुगेका बेला प्रहरीले दुई वटा मोबाइल खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको उनको भनाइ छ। उनका अनुसार प्रहरीले असोज १४ देखि १५ गते साँझसम्म नियन्त्रणमा राखेर पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङ र हिमालय होटलका नवीन तुलाधर सहित केही व्यक्तिविरूद्ध बयान दिन दबाब दिएका थिए। ती व्यक्तिहरूविरूद्ध प्रमाण र बयान दिए छाडिदिने भन्दै प्रहरीले आफू र आफ्नो परिवारलाई समेत ज्यानको खतरा हुने धम्की दिएको निवेदनमा उल्लेख छ। प्रहरीले तयार पारेको कागजमा आफूले नगरेका र थाहा नभएका कुरा लेखिएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेको उनको दाबी छ। निवेदकले प्रहरीले आफूलाई जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याएर थुनामा राखेको र भोलिपल्ट काठमाडौँको पानीपोखरीस्थित आफ्नो निवासमा लगेर खानतलासी गरेको बताएका छन्।

खानतलासी क्रममा प्रहरीले पुरानो ल्यापटप, मोबाइल र सुटकेसभित्र रहेको विदेशी मुद्रा बरामद गरेको भन्दै मुचुल्का बनाएको उनको आरोप छ। आफूबाट दुई दिनअघि नै खोसिएको आइफोन समेत घरबाट बरामद भएको देखाउन खोजिएको उनले दाबी गरेका छन्। उनलाई विमानस्थलअगाडि सार्वजनिक सडकमा महिला तथा सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाइएको थियो। तर आफूलाई विमानस्थलको सडकबाट नभई विमानस्थलभित्रैबाट पक्राउ गरिएको उनको दाबी छ। यसबारे सत्यतथ्य पत्ता लगाउन विमानस्थलको सीसीटीभी फुटेज जाँच गर्न पनि उनले माग गरेका छन्। प्रहरीले आफ्नो साथबाट १ हजार ३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको भन्दै विदेशी विनिमयसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। पछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत थपेर आफूलाई निरन्तर थुनामा राख्ने प्रयास गरिएको निवेदकको आरोप छ। आफूले बोकेको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी व्यवस्था अनुसार कानुनसम्मत रहेको उनको दाबी छ। प्रहरीले आफूलाई विभिन्न व्यक्तिसँग जोडिएका अडियो तथा राजनीतिक र न्यायिक विषयमा आफूले भन्दै नभनेका कुरा स्वीकार गर्न दबाब दिएको पनि निवेदनमा उल्लेख छ। उनले आफूलाई गैरकानुनी रूपमा पक्राउ तथा थुनामा राखिएको र मानसिक यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसँग आफ्नो जीवनरक्षा तथा मानव अधिकार संरक्षणका लागि आवश्यक पहल गरिदिन माग गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *