‘होल्डिङ सेन्टर’बाट सुकुम्बासीलाई हटाउने निर्णय फिर्ता गर्न कांग्रेसको माग

काठमाण्डौं । नेपाली कांग्रेसले ‘होल्डिङ सेन्टर’ बाट सुकुम्बासीलाई हटाउने निर्णय फिर्ता गर्न सरकारसमक्ष माग राखेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सरकारको उक्त निर्णयप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिनुपर्ने माग राखेको हो । ‘वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट समेत हटाउने सरकारको निर्णयप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति गम्भीर आपत्ति प्रकट गर्दछ’, बैठक पहिलो निर्णयमा भनिएको छ,‘ सरकारले सुकुम्बासीका घर भत्कायो, व्यवस्थापन र लालपुर्जाको आश्वासन दियो, महिनौँसम्म अनिश्चिततामा राख्यो र आज अस्थायी आश्रयबाट समेत हटाउन खोज्दै छ ।

सरकारको यो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको नेपाली कांग्रेसको ठहर छ ।’ अगाडि उल्लेख गरिएको छ, ‘नेपाली कांग्रेस होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारहरूको सुरक्षित, सम्मानजनक एवं दिगो पुनर्वास सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्दछ ।’ साथै, कांग्रेसले होल्डिङ सेन्टरको समन्वय र सहजीकरण गर्नका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *