नेपाल २०२५ को सोलो एड्भेन्चेर ट्राभल गन्तव्यको सातौं स्थानमा

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ।

बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो।नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवद्र्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय-आधारित पर्यटन प्रवद्र्धनको नीतिले नेपाललाई एकल यात्रुका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ।

‘मच बेटर एड्भेन्चर’को सूचीका लागि नेपाललाई अद्वितीय भू-दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्यांकन गरिएको छ । यसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट र चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ।

पर्यटन बोर्डले एकल यात्रुको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ। बोर्डले प्रवद्र्धन गर्दै आएको उत्तरदायी पर्यटन नीतिअन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ।

नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ। जसमा भनिएको छ, “नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ।” मच बेटर एड्भेन्चर्सका सहसंस्थापक श्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो। यसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *